मधेस प्रदेशमा कम बजेट विनियोजन भयो भन्ने कुरा साँचो होइन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा मधेस प्रदेशमा कम बजेट विनियोजन गरिएको कुरा सत्य नभएको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँगको प्रश्नउत्तर कार्यक्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
उनले संघीयताको मर्म अनुरुप संघबाट प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको १५ प्रतिशत भन्दा बढी रकम मधेस प्रदेशमा जाने गरेको बताए ।
प्रधानमन्त्री दाहालले संघबाट सञ्चालन हुने पूर्वपश्चिम राजमार्ग, पथलैया वीरगञ्ज करिडोर, चन्द्रपुर गौर राजमार्ग, हुलाकी राजमार्ग, सुनकोशी मरिनडाइभर्सन, बागमती, कमला, चन्द्रनहर लगायतका सिँचाई आयोजना विभिन्न औद्योगिक पूर्वाधार तथा व्यापारिक पूर्वाधार आयोजनाहरु तराई मधेसलाई लक्षित गरि नै अगाडि बढाइएको बताए ।
उनले तराई मधेस समृद्धि कार्यक्रम, मधेसलाई काठमाडौंसँग जोड्ने द्रुतमार्ग लगायतका ठूला परियोजना पनि मधेस प्रदेशमा पर्नेमा तीनको समयवद्ध कार्यान्वयनको लागि बजेट विनियोजन गरिएको बताए ।
प्रधानमन्त्री दाहालले भने,‘मधेस प्रदेशमा कम बजेट विनियोजन भयो भन्ने कुरा साँचो होइन । संघीयताको मर्म अनुरूप संघबाट प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको १५ प्रतिशत भन्दा बढी रकम मधेस प्रदेशमा जाने गरेको छ । सञ्चालनमा रहेका आयोजनाहरुको कार्य प्रगति आवश्यकताका आधारमा बजेट विनियोजन हुने भएकाले बजेटको अंकसँगै त्यसले पार्ने वृहतम प्रभावलाई समेत सकारात्मक रुपमा लिन आग्रह गर्दछु । विरगञ्जको विकास सरकारको प्राथमिकतामा छ ।’
उनले मधेसमा सञ्चालनमा रहेका आयोजनाहरुको कार्य प्रगति आवश्यकताका आधारमा बजेट विनियोजन हुने भएकाले बजेटको अंकसँगै त्यसले पार्ने वृहत प्रभावलाई समेत सकारात्मक रूपमा लिनुपर्ने बताए । उनले वीरगञ्जको विकासमा सरकारको प्राथमिकता रहेको पनि बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


