जनकपुरधाम, ७ असार । ट्राफिक सचेतना, लागूऔषध, एचआईभी एड्स जस्ता समस्याहरुलाई न्यूनीकरण गर्न ध्यानाकर्षण गराउँदै जिल्ला युवा सञ्जाल धनुषाले जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन मण्डललाई ज्ञापनपत्र बुझाएको छ ।

युवाहरुको सवालमा स्थानीय तहहरुलाई गम्भीर रुपमा सोच्न आग्रह गर्दै ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापनपत्र बुझाउँदै जिल्ला युवा सञ्जाल धनुषाका अध्यक्ष कुलदिप साहले भने, ‘अहिले दिनहँु सवारी दुर्घटनाहरु भइरहेका छन्, जसमा सबैभन्दा बढी क्षती बोक्ने युवा नै हो । यसलाई कसरी न्युनीकरण गर्ने तीर खासै चासो सम्बन्धित निकायहरुले दिएका छैनन् । यसै समस्याहरुलाइ लिएर हामीले ज्ञापनपत्र बुझाएका छौं ।’

ज्ञापनपत्रमा ट्राफिक सचेतना, लागूऔषध, एचआईभी एड्स जस्ता समस्याहरुलाई न्यूनीकरण गर्न धनुषाका १८ वटै पालिकाहरुमा कार्यक्रम छुट्याउनका लागि समन्वय गरिदिन आग्रह गरिएको छ ।

‘अहिले सबै पालिकाहरु आगामी आर्थिक वर्षका लागि बार्षिक बजेट बिनियोजन कार्यक्रममा ध्यान केन्द्रित गरेको छ । सबैले आ–आफ्नो तरिकाले कार्यक्रमहरु छनोट गर्दैछन्, ‘कुलदिपले भने,’ तर, युवाहरुको सवालमा थौरै पालिकाहरुले मात्र गम्भीर रुपमा सोच्ने गरेका छन् ।’

सबै पालिकाहरुले सचेतना लगायत यस्ता कार्यक्रमहरु छुट्याए आउने दिनमा युवाहरु सचेत भई दुर्घटना कम हुने विश्वास लिइएको छ ।