दुई दिनदेखि उपचार नपाएको शर्माको गुनासो, फेरि अनसन सुरु गर्ने चेतावनी

काठमाडौं, ७ असार । नागरिकताको समस्या समाधानका लागि ७ दिनदेखि आमरण अनसनमा रहेका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले अस्पतालमा उपचार पाइरहेका छैनन् ।
असार १ गतेदेखि माइतीघर मण्डलमा आमरण अनसन सुरु गरेका शर्माको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि असार ४ गते सरकारले वीर अस्पतालमा भर्ना गरेको थियो । तर, अस्पतालले उपचारमा बेवास्ता गरेको कारण स्वास्थ्य अवस्था झन् बिग्रीँदै गइरहेको छ ।
अस्पतालमा पनि अनसनमै रहेका शर्माले भने, ‘अस्पतालमा भर्ना भएकै दिनदेखि इमर्जेन्सी वार्डको एउटै बेडमा छु, त्यहाँबाट कतै सारिएको छैन, सरकारले अहिलेसम्म मेरो उपचारको लागि आधिकारिक रुपमा मेडिकल टिम बनाएको छैन ।’ सुरुमा डाक्टरले ध्यान दिएपनि दुई दिनदेखि उपचारविहीन भएको बताउँदै उनले स्वास्थ्य अवस्था निरन्तर कमजोर हुँदै गएको बताए ।
वीर अस्पतालका व्यवस्थापनसँग कुरा गर्दा सरकारबाट उपचारको विषयमा कुनै खबर नआएका कारण व्यवस्थापन गर्न नसकिने जानकारी गराएको नेता शर्माले बताए । आफू संविधानसभाको एक जना सदस्य, नेपालको राजनीतिमा लामो योगदान हुँदाहुँदै पनि अस्पताल प्रशासनले यस्तो बेवास्ता गरेको भन्दै उनले सर्वसाधारणको के हालत होला भनी प्रश्न गरेका छन् ।
उनले बिहीबार बेलुका ६ बजेसम्म अस्पतालले मेडिकल टिम नबनाए आफू पुनः माइतीघरमा गएर आमरण अनसन सुरु गर्ने चेतावनी दिए ।
नागरिकता सम्बन्धि आदेश सर्वोच्च अदालतबाट नआउँदा लाखौ नेपाली युवा बिचल्लीमा परेकाले अविलम्ब नागरिकता प्रदान गर्ने फैसला आउनुपर्ने शर्माले माग गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


