काठमाडौं, ७ असार । नागरिकता विधेयक प्रमाणीकरणविरूद्धको मुद्दाको सुनुवाइ बिहीबार भइरहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरूद्ध दायर रिटमाथि सुनुवाइ भइरहेको छ ।

यो मुद्दा सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा पेसी परेको छ । भट्टराई र रेग्मीको संयुक्त इजलासमा पहिलो नम्बरमै यो मुद्दाको पेसी रहेको छ ।

यसअघि रिटमाथि सुनुवाइ गर्दै नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफलका लागि दुवै पक्षलाई बोलाउन पेसी चढे पनि पटक–पटक सर्दै आएको छ ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेसहितले दायर गरेको रिटमा सुनुवाइ भएमा अन्तरिम आदेशको बारेमा टुंगो लाग्नेछ । सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा अन्तिम फैसला नहुँदासम्म नागरिकता ऐन कार्यान्वयनमा रोक लाग्नेछ ।

सर्वोच्चले यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेमा ऐन कार्यान्वयनको बाटो खुल्नेछ । राष्ट्रपति पौडेलले अघिल्लो संसदले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण गरेपछि वरिष्ठ अधिवक्ता भण्डारीलगायतले ऐन कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण भइसकेपनि नागरिकता ऐन कार्यान्वयनमा नआएको भन्दै नागरिकताविहीनहरूले पछिल्लो २० दिनदेखि माइतीघर मण्डलामा प्रदर्शन गर्दै आइरहेका छन् ।

नागरिकताविहीनहरूलाई तत्काल नागरिकता प्रदान गर्न बाटो खोल्नुपर्ने माग गर्दै नेकपा माओवादी केन्द्रका नेता रामकुमार शर्मा पछिल्लो सात दिनदेखि सत्याग्रहमा बसेका छन् ।

१ असारदेखि माइतीघर मण्डलामा सत्याग्रहमा बसेका शर्माको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई वीर अस्पतालमा भर्ना गरिएको छ ।
उनी अस्पतालमा पनि सत्याग्रहमै छन् ।