काठमाडौं, ७ असार । काठमाडौं महानगरका मेयर बालेन साहले अदालतको आदेश नमान्ने बताएका छन् ।

उच्च अदालत पाटनले काठमाडौंका सिनेमा हलहरूमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि महानगर प्रमुख साहले असन्तुष्टि व्यक्त गर्दै त्यसलाई नमान्ने बताएका हुन् ।

‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधीनमा थियो भनी सकेपछि उनीहरूको नियत थाहा हुन्छ,’ मेयर साहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधीनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइने छैन ।’

नेपाल चलचित्र संघले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश धीर बहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

काठमाडौं महानगरका मेयर साहले ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद नहटेसम्म हिन्दी फिल्म चल्न नदिने बताउँदै सोमबारदेखि प्रदर्शन रोक लगाएकोमा उच्च अदालतले फिल्म चलाउन दिन अन्तरिम आदेश दिएको हो ।