काठमाडौं, ६ असार । काठमाडौं महानगरपालिकाले बन्द गराएको ‘हिसान’को शैक्षिक मेला नरोक्न उच्च अदालतले आदेश दिएको छ ।

बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र रमेश ढकालको संयुक्त इजलासले उच्च माध्यमिक विद्यालय संघ नेपालको शैक्षिक मेला नरोक्न आदेश दिएको हो ।

गएको बिहीबारदेखि ‘हिसान’ र कान्तिपुर पब्लिकेसन्सको संयुक्त आयोजनामा भृकुटीमण्डपमा सुरु भएको मेला महानगरका प्रमुख बालेन्द्र शाहको निर्देशनमा रोकिएको थियो ।

एसइईको नतिजा नआउँदै प्लस टुमा भर्नाका लागि विद्यार्थीलाई दबाब दिएको र मेला चलाउनुअघि स्थानीय तहलाई जानकारी नगराएको भन्दै बालेनले मेला बन्द गराएका थिए ।