वीरगञ्ज, ५ असार । पर्साको वीरगञ्जस्थित गहवामाई मन्दिरको ११औं वार्षिकोत्सवको अवसरमा पहिलो पटक भव्य रथयात्रा निकालिएको छ ।

मंगलबार मन्दिर परिसरबाट सुरु भएको रथयात्रा माइस्थान चोक, घण्टाघर, रेल्वे रोड हुँदै छपकैया पुगेर श्रीराम सिनेमा हल, वीर्ता, अलखियामठ, आदर्शनगर चोक, महावीरस्थान, माईस्थान चोक हुँदै पुन मन्दिर प्रांगणमा पुगेर समापन भएको थियो ।

रथयात्रामा हिन्दु धर्म र संस्कृति झल्किने विभिन्न झाँकीसहित तराई–मधेशका प्रचलित लोकबाजाको साथमा देशका अन्य भुगोल, संस्कृति, भाषा र परम्परा समेतको प्रतिनिधित्व हुने किसिमको विभिन्न नृत्य, प्रस्तुत गरिएको थियो ।

रथयात्रामा सहभागी भक्तजनका लागि विभिन्न सामाजिक संघसंस्था एवम् व्यापारिक प्रतिष्ठानले नगरका विभिन्न ठाँउमा चिसो पानी, सर्वत, लस्सी र जुस निःशुल्क वितरण गरेका थिए । रथयात्रामा सहभागी हुन बारा, पर्सा, रौतहट लगायत छिमेकी मुलुक भारतका भक्तजनहरुको ठूलो संख्यामा सहभागिता रहेको थियो । सयौँ वर्ष पूरानो इतिहास बोकेको गहवामाईको नवनिर्मित मन्दिरको उद्घाटन पश्चात कुनैपनि कार्यक्रम नभएकोले ११औँ वार्षिकोत्सवको अवसरमा रथयात्रा निकालिएको रथयात्रा आयोजक समितीका संयोजक श्याम पोखरेलले बताए ।

मंगलबार साँझ गहवामाई मन्दिर परिसरमा बृहत भजनकृतनको आयोजना गरिनुका साथै बुधबार बिहान गहवामाईलाई ५६ प्रकारको भोग चढाइने र भक्तजन तथा दर्शनार्थीहरुका लागि भण्डाराको आयोजना गरि प्रसाद वितरण पश्चात साझँ पुजा समापन गरिने संयोजक पोखरेलले बताए ।

रथलाई गहवामाई मन्दिरको आकृतिसँग मिल्दोजुल्दो बनाई फूलमाला र विभिन्न झिलीमिली बत्ती जडान गरेर दुलहीझैँ सजाइएको थियो ।काठमाण्डौँ पछि वीरगञ्जमा रहेको पशुपतिनाथको मन्दिरमा महाआरती गरिएसँगै धार्मिक पर्यटन भित्राउन विभिन्न धार्मिक अनुष्ठानहरु सञ्चालन हुँदै आएका छन् ।

माईस्थानको गहवा मन्दिर र महाविरस्थानमा रहेको हनुमान मन्दिरमा आयोजित महाआरतीसँगै आर्दशनगरमा शिव पुराणपछि माईस्थानमा गहवामाईको रथयात्रामा उर्लिएको जनसागरले वीरगञ्जमा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको र यसलाई सार्थक बनाउने अभियानमा आफू जुटेको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताए ।

सिंहकै पहलमा वीरगञ्जको शंकराचार्य प्रवेशद्वार नजिकै झण्डै १७ विग्हा क्षेत्रफलमा अक्षरधाम निर्माण गर्ने कार्य तिब्र रुपमा अगाडी बढेको छ । स्वामि नारायण अक्षरधाम भारतको गुजरात तथा कोलकत्ताका प्रमुख पिठाधिश अक्षरानन्द दासको वीरगंञ्ज आगमनसँगै अक्षरधाम निर्माण गर्ने महानगरको लक्ष्य साकार बन्ने कुरामा आफू विश्वस्त रहेको नगर प्रमुख सिंहले बताए ।