प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर शुक्रबार हुने

काठमाडौं, ५ असार । प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर शुक्रबार हुने भएको छ । मंगलवार बसेको संसद् बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम शुक्रवार हुनेगरी निर्धारण गरेको जानकारी दिए ।
सभामुख घिमिरेले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको लागि सम्पूर्ण सदस्य संख्यालाई वर्णानुक्रमअनुसार हरेक समूहमा १५ जना सदस्य रहनेगरी जम्मा १७ समूहमा विभाजन गरिएको बताए । यो महिना भने समूह १ मा रहेका प्रतिनिधि सभा सदस्यको पालो रहेको उनले जानकारी गराए ।
‘प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम यही २०८० असार ८ गतेको बैठकमा हुनेगरी निर्धारण गरेको ब्यहोरा जानकारी गराउँछु । साथै प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको लागि सम्पूर्ण सदस्य संख्यालाई वर्णानुक्रम अनुसार हरेक समूहमा १५ जना सदस्य रहनेगरी जम्मा १७ समूहमा विभाजन गरिएको व्यहोरा जानकारी गराउँछु,’ सभामुख घिमिरेले भने, ‘नियम अनुसार प्रत्येक महिना प्रधानमन्त्रीसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा यसरी विभाजन गरिएको समूहमा रहेका सदस्यहरुले क्रमशः प्रश्न सोध्न सक्नुहुनेछ । र, समूह १ मा रहेका माननीय सदस्यहरूले यस महिना प्रश्न सोध्नका लागि नियमावलीको नियम ५८ बमोजिम आजै दिनको पाँच बजेभित्र प्रतिनिधि सभाको सचिव समक्ष आफ्नो प्रश्न लिखितरूपमा दिन सक्नुहुने ब्यहोरा जानकारी गराउँछु ।’
प्रधानमन्त्रीलाई सोध्ने प्रश्न मंगलबार अपरान्ह ५ बजेसम्म प्रतिनिधि सभाका सचिवसमक्ष लिखितरूपमा दिन सभामुख घिमिरेले प्रतिनिधि सभा सदस्यलाई आग्रह गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


