बाढीपहिरोबाट चार दिनमा १० जनाको मृत्यु, ६ घाइते, २६ बेपत्ता

काठमाडौं, ५ असार । असार महिनामा वर्षा, बाढी र पहिरोका कारण देशभर १० जनाको मृत्यु भएको छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार प्रतिनिधि सभा बैठकमा असार २ गते रातिदेखिको अविरल वर्षा, बाढी र पहिरोका कारण १० जनाको मृत्यु भएको जानकारी गराएका हुन् ।
विपद्का घटनामा ६ जना घाइते, २६ जना बेपत्ता र ५४ घर पूर्ण रुपमा क्षति भएको उनले जानकारी दिए । असार २ गते रातिदेखिको अविरल वर्षाका कारण संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा बढी क्षति भएको छ ।
गृहमन्त्री श्रेष्ठले विपद् पीडित उद्दार तथा राहत सम्बन्धी मापदण्ड २०७७ अनुसार मृतकको परिवारलाई राहत दिने पनि बताएका छन् । उनले प्रभावित घरधुरीलाई पनि सोही मापदण्ड अनुरुप तत्काल पुनःस्थापनाका लागि रकम दिने जानकारी दिए ।
उक्त मापदण्डमा मृतकको परिवारलाई २ लाख रुपैयाँ राहत दिने र एकै परिवारको एक भन्दा बढी सदस्यको मृत्यु भएमा प्रतिव्यक्ति थप एक लाख रुपैयाँ राहत दिने व्यवस्था छ ।
घरबास क्षति भएकालाई तत्काल गुजाराको लागि प्रति परिवार १५ देखि २० हजार रुपैयाँ दिने व्यवस्था पनि उक्त मापदण्डमा छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


