समाजवादी मोर्चाको निर्माण सत्तामाथि पकडको प्रयास : डा. विजय कुमार सिंह

जनकपुरधाम, ४ असार । तराई मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ नेता डा. विजय कुमार सिंहले समाजवादी मोर्चाको निर्माण कम्युनिष्टहरुको सत्तामाथि पकडको प्रयास रहेको टिप्पणी गरेका छन् ।
वरिष्ठ नेता सिंहले समाजवादी मोर्चाको निर्माणलाई पुनः एकीकृत कम्युनिष्ट पार्टीको निर्माणको यात्राको संज्ञा दिएका हुन् ।
सिंहले भने, ‘ध्रुवीकरणको निमित्त चलिरहेको निरन्तर बाह्य चलखेलको स्पष्ट संकेत देखिंदै छ । मोर्चाको समझदारी–पत्रमा पूर्ण समानुपातिक निर्वाचन र संविधान संशोधनको बारेमा केही उल्लेख नगरिनु भनेको जसपाले पनि यी महत्वपूर्ण मुद्दालाई तिलान्जली दिएको प्रमाणित हुन्छ ।’
उनले यसबाट जनता समाजवादी पार्टी पनि कम्युनिष्ट पार्टी नै भएको तथ्य स्वतः सिद्ध भएको दाबी गरेका छन् ।
जसपासँग जोडिएका मधेशको एजेन्डा र लोकतन्त्रप्रति समर्पित लोकतन्त्रवादीहरूको निमित्त अहिलेको समय संवेदनशील भएको र मधेशमा लोकतान्त्रिक शक्तिहरु एक हुनु आवश्यक भएको उनको भनाई छ ।
डा. सिंहले तमलोपा प्रारम्भदेखि नै लोकतान्त्रिक मोर्चाको निर्माणको पक्षमा रहेको र अहिले यसको आवश्यकता अझ बढी देखिएको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


