काठमाडौं, ४ असार । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले समाजवादी मोर्चा निर्माण नेपाली राजनीतिको लागि नयाँ मोड भएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले यस्तो बताएका हुन् ।

मोर्चा निर्माण नेपाली राजनीतिको लागि नयाँ मोड भएको बताउँदै उनले सरकारमा भएको र संघर्षमा रहेको पार्टीको बीचमा मोर्चा बन्नु नेपालको इतिहासकै नयाँ प्रयोग भएको बताए ।

देशको राजनीति अत्यासलाग्दो परिस्थितिमा गुज्रिएको भन्दै उनले देशलाई त्यसबाट मुक्त पार्नका लागि समाजवादी मोर्चा बनेको दाबी गरे ।

नेपाल अग्रगमन र पश्चगमनबीचको लडाइँमा उभिएको भन्दै उनले प्रतिगामी र पश्चगामीहरुलाई मौकाको फाइदा उठाउन नदिनका लागि मोर्चा बनेको उल्लेख गरे । देशको नेतृत्व अग्रगामीहरुले गर्ने बताउँदै महासचिव विप्लवले देशको नेतृत्व समाजवादी मोर्चाले गर्ने बताए ।