ओलीलाई समाजवादी मोर्चादेखि नतर्सिन उपेन्द्रको आग्रह

काठमाडौं, ४ असार । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी ओलीलाई समाजवादी मोर्चादेखि नतर्सिन आग्रह गरेका छन् ।
ओलीप्रति संकेत गर्दै उनले केही दिनदेखि मिडियामा बरबराउन थालेको भन्दै मोर्चासँग तर्सिन नपर्ने बताएका हुन् ।
सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित ‘समाजवादी मोर्चा, नेपाल’ घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष यादवले मोर्चा कसैका विरुद्ध लक्षित नरहेको पटकपटक दोहोर्याए ।
परिवर्तनका मुद्दालाई अगाडि बढाउने, राष्ट्र निर्माणलाई अगाडि बढाउने र मुलुकमा देखा परेका समस्यालाई हल गर्दै अगाडि बढ्नका लागि मोर्चा गठन गरिएको उनको तर्क थियो ।
अध्यक्ष यादवले प्रतिगमनका पक्षधर, संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध उभिनेहरुका विरुद्धमा भने मोर्चाले संघर्ष गर्ने चेतावनी समेत दिए । समानता, सामाजिक न्याय र समतामा आधारित एउटा समाजवादी समाजको निर्माण गर्ने दिशातर्फ अगाडि बढ्नका लागि नै मोर्चा गठन गरिएको र त्यसमा सफलता हात पार्ने उनले दाबी गरे ।
अध्यक्ष यादवले आफ्नै देशका नागरिकलाई नागरिकताबाट वञ्चित गराउने प्रयास भएको भन्दै त्यसका विरुद्ध संघर्ष गर्न पनि सबैलाई तयार रहन आग्रह गरे ।
संविधानमा रहेका त्रुटि, कमीकमजोरीलाई सच्याउँदै लैजाने काममा पनि मोर्चाले काम गर्ने उनको भनाइ छ । राष्ट्रको हित, जनताको हित गर्ने समाजवादी मोर्चाको ध्येय रहेको पनि अध्यक्ष यादवले दाबी गरे ।
अध्यक्ष यादवले सबै समुदायका जनतालाई परिवर्तनको अनुभूति गराउन लागि सामूहिक प्रयास गर्न पनि समाजवादी मोर्चा उपयोगी हुने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


