कसैसँग मुकाविला गर्नका लागि समाजवादी मोर्चा निर्माण गरिएको होइन : माधव नेपाल

काठमाडौं, ४ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कसैसँग मुकाविला गर्नका लागि समाजवादी मोर्चा निर्माण नगरिएको बताएका छन् ।
एमाले अध्यक्ष केपी ओलीले कांग्रेसलाई तर्साउन र एमालेसँग मुकाविला गर्नका लागि मोर्चा बनाउन लागिएको टिप्पणी गरेको स्मरण गराउँदै उनले यस्तो बताएका हुन् ।
सोमबार काठमाडौंमा आयोजित ‘समाजवादी मोर्चा, नेपाल’ घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले प्रतिगमनका विरुद्धमा भने मोर्चाले डटेर सामना गर्ने बताए ।
मोर्चा कसैलाई तर्साउन र मुकाविला गर्नका लागि नभएको भन्दै उनले प्रतिगमनका पक्षमा भएकाहरु मोर्चासँग डराउन सक्ने जिकिरसमेत गरे । अध्यक्ष नेपालले भने, ‘यो मोर्चा स्वार्थको मोर्चा होइन । यो मोर्चा सिद्धान्तहीन मोर्चा होइन । यो मोर्चा विचारहीन मोर्चा होइन ।
यसको प्रष्ट उद्देश्य छ, प्रतिगमनका विरुद्धमा र यथास्थितिको विरुद्धमा परिवर्तनका लागि एकताबद्ध हुने सम्पूर्ण देशभक्त र समाजवादी शक्तिलाई हामी एकताबद्ध बनाएर लैजान चाहन्छौँ ।’
अध्यक्ष नेपालले अग्रगमनका पक्षधर सबै शक्तिहरुलाई मोर्चामा आबद्ध हुन पनि आह्वान गरे । सत्तापक्ष र सत्ताबाहिर रहेका दल सहभागी रहेको मोर्चाले सबै शक्तिलाई समेट्ने सामर्थ्य राखेको पनि उनले दाबी गरे । अध्यक्ष नेपालले देशभक्त र क्रान्तिकारी शक्तिहरुसँग हातेमालो गर्दै अघि बढाउने योजना मोर्चासँग रहेको समेत बताए ।
अध्यक्ष नेपालले समाजवादी शक्तिमा रहेका जनताको प्रभावलाई विस्तार गर्न पनि आफूहरुले सो मोर्चा निर्माण गरेर अघि बढने निर्णय लिएको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


