जनकपुरधाम, ३ असार । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा चरम भाषिक विभेद रहेको टिप्पणी गरेका छन् ।

आइतबार जनकपुरधाममा भाषा आयोगले आयोजना गरेको सरकारी कामकाजको भाषा कार्यान्वयनका लागि अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री समेत रहेका यादवले नेपालमा बोलिने १२५ भाषामध्ये एकमात्र भाषा मान्य भाषाको रुपमा प्रयोग हुनु भाषिक विभेद र असमानताको पराकाष्ठा रहेको बताएका हुन् ।

यादवले नेपाली भाषाभन्दा नेपालमै बोलिने अन्य धेरै भाषाहरु अत्यन्त प्राचिनतम रहेको दावी गर्दै मिथिला माण्डवी, नेपाल, तामाङ्ग जस्ता भाषाहरु नेपालीभन्दा पनि प्राचिन रहेको तर्क गरे ।

खसबाट पर्वते र गोर्खाहुँदै वि.सं. १९३३ मा गोर्खा भाषा प्रकाशनी समिति बन्दै १९७० मा सोहि समितिलाई नेपाली भाषा प्रकाशनी समिति बनाएर नेपाली भाषाको रुपमा प्रचार गरिएको र हालको नेपाली भनिने भाषालाई राज्यशक्तिको बलमा एकल र निर्विकल्प भाषाको मात्र अधिपत्य जमाइनु अधिनायकवाद रहेको उनको आरोप छ ।

कार्यक्रममा मधेसका प्रदेश प्रमुख हरिशंकर मिश्र, सभामुख रामचन्द्र मण्डल, कांग्रेस नेता फरमुल्ला मन्सुरसहित राजनीतिक दलका नेताहरु, भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर लगायतकाले आ–आफ्नो धारणा राखेका थिए ।