जनकपुरधाम, ३ असार । अहिले आर्थिक वर्षको अन्तिम मसान्त भएकोले कामको अत्यधिक चटारो छ । खासगरी स्थानीय तहले एकातिर प्रतिकुल परिस्थितिको सामना गर्दै अत्यावश्यक दैनिक प्रशासनिक कार्य अगाडि बढाउनुपर्ने बाध्यता छ भन्ने अर्कोतर्फ नगरसभा सम्पन्न गरी आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेट तयार गर्नुपर्ने मुख्य काम बाँकी छ ।

तर, संघीय खानेपानी मन्त्री महिन्द्र राय यादवको अनावश्यक हस्तक्षेपका कारण सर्लाहीको हरिपूर्वा नगरपालिका विगत ८१ दिनदेखि प्रशासनिक नेतृत्वविहीन बनेको आरोप लगाइएको छ । खानेपानी मन्त्री यादवले नगरपालिकामा भाँडभैलो मचाएर चालु आर्थिक वर्षको बजेटमा ठुलो रकम फ्रिज गराउने र आगामी आर्थिक बजेटको बजेटलाई पनि प्रभावित बनाउने योजनामा रहेको आरोप लगाइएको हो ।

यसअघि विधिपूर्वक निर्वाध सञ्चालन हुँदै आएको हरिपूर्वा नगरपालिका नयाँ जनप्रतिनीधिहरुको दलगत र नैतिकविहिन राजनीतिले नगरपालिकालाई अपाङ्ग बनाइएको छ । मन्त्री र मेयरबीचको जुहारी र ईगोका कारण हरिपूर्वा नगरपालिका अनिर्णयको बन्दी बनेको आरोप लागेको हो । नगरपालिकाको आन्तरिक युद्धका कारण जनता भने मारमा परेका छन् । नगरकार्यपालिकाको कार्यालयमा विगत ८१ दिनदेखि तालाबन्दी गरिएपनि ताला खोलाउन कसैले कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ ।

सातवटा दल आबद्ध रहेको सर्वदलीय संघर्ष समितिको दोस्रो चरणको आन्दोलनअन्तर्गत चैत १५ गतेदेखि नगरपालिकामा ताला लगाइएको छ । नेकपा एमालेका प्रदेश कमिटी सदस्यसमेत रहेका विकाउ यादवको अध्यक्षतामा गठित नगरस्तरीय सर्वदलीय संघर्ष समितिले नगरपालिकाविरुद्ध दोस्रो चरणको आन्दोलनअन्तर्गत लाठी र झारु जुलुस प्रदर्शन गर्दै चैत १५ गते बुधबार नगरपालिकाको कार्यालयमा ताला लगाएका थिए ।

विगत ८१ दिनदेखि नगरपालिकामा तालाबन्दी गरिएपनि नगरप्रमुख विनोदकुमार साहले सहज वातावरणको निर्माण गरी ताला खोलाएर कामकाज गर्नुभन्दा पनि मस्त निद्रामा सुतेको स्थानीयको आरोप छ । नगरप्रमुख साहका कारण हरिपुर्वा नगरपालिका अस्तव्यस्त बनेकोलगायतका विभिन्न ९ बुँदे माग राख्दै संघर्ष समितिले दुईरदुई पटक आन्दोलन गरेपनि समस्या समाधानका लागि उनले कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ ।

आर्थिक वर्षको अन्त्यमा आएर कार्यालयको सबै कामकाज ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् भने दैनिक कामकाजसमेत प्रभावित बनेका छन् । संघर्ष समितिका अध्यक्ष यादवले आफूहरुको ९ बुँदे माग सम्बोधन गर्न नगरप्रमुख साहले अहिलेसम्म कुनै चासो नदेखाएको आरोप लगाए । यसअघि पहिलो चरणको आन्दोलनअन्तर्गत संघर्ष समितिले चैत ४ देखि ६ गतेसम्म नगरभित्र माइकिङ्ग, शान्तिपुर्ण नारा जुलुसका साथै कोणसभासहित सवारीसाधन तथा बजारसमेत बन्द गरेको थियो ।

यता, नगरप्रमुख साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी नपठाएकोले आफ्नो पालिकाको कामकाज ठप्प रहेको सुनाए ।

उनले भने, ‘म अहिले पनि काठमाडौंमै छु । ताला खोलेर कामकाज गर्ने वातावरण निर्माण गर्न हरसम्भव प्रयासरत छु । तर, सर्लाही–२ बाट निर्वाचित खानेपानी मन्त्री महिन्द्र राय यादवका कारण प्रशासकीय अधिकृत पठाउन कठिनाई भइरहेको छ । सामान्य प्रशासन मन्त्रालयले प्रशासकीय अधिकृत पठाउँदा मन्त्री यादव बिचबाटै उनलाई फर्काई दिन्छन् । उनी आफूअनुकूल केन्द्रमै बसेर नगरपालिका चलाउन खोजिरहेका छन् । यसको सम्पूर्ण दोषी मन्त्री यादव हुन् ।’

नगरप्रमुख साहले नगरस्तरीय सर्वदलीय संघर्ष समितिसँग प्रमुख जिल्ला अधिकारीको रोहवरमा ताला खोलाउन दुई पटक छलफल भईसकेको अवस्थामा मन्त्री यादवले बिचमै बाधा पुर्याइरहेको आरोपसमेत लगाए । फुलजोर बाबा साझेदारी वनको उपभोक्ता समिति गठनको क्रममा आफ्नो मान्छे नपरेपछि मन्त्री यादवका आफ्नै भाइ जोगी राय, भतिजो ज्ञानेन्द्र रायलगायतकाले वडा नम्बर–९ मा पनि विगत तिनदिनदेखि ताला लगाएको उनले बताए ।

वडा नम्बर–९ का वडाध्यक्ष सुरेन्द्र महतोले वडा कार्यालयबाट प्रदान हुँदै आएको सामान्य सेवाहरु पनि तालाबन्दीका कारण ठप्प रहेको सुनाए । उनले आर्थिक मसान्तको अन्त्यमा अन्य विकास निर्माणका कामहरु पनि ठप्प हुँदा हरिपूर्वा नगरपालिका अनिर्णयको बन्दीमा परेको बताए ।

प्रशासकीय अधिकृत बसन्त न्यौपानेको सरुवा भएपश्चात् वडा नम्बर–९ कै स्थानीयवासी शम्भु प्रसाद यादवलाई प्रशासकीय अधिकृतको जिम्मेवारीमा खटाइएपनि एक दिन नबित्दै मन्त्री यादवले उनको अन्यत्र सरुवा गराएको वडाध्यक्ष महतोले बताए ।  त्यसपछि निमेष मिश्रा प्रशासकीय अधिकृत बनेर आउँदा उनले यहाँको वातावरण हेरेर हाजिरी नै नगरि फिर्ता भएपछि अन्य कार्यालय प्रमुख आउन नसकेको उनले जानकारी दिए ।