जनकपुरधाम, २ असार । आम जनता पार्टी नेपालका अध्यक्ष प्रभु साहले मधेस जातीय वर्चश्ववादीहरुको कब्जामा पर्न थालेको आरोप लगाएका छन् ।

शनिबार जनकपुरधाममा पार्टीका नेता कार्यक्रताहरुलाई प्रशिक्षण दिने क्रममा उनले लोकतन्त्र त पर जाओस् यहाँ दलतन्त्र पनि नरहेको जिकिर गरेका हुन् ।

उनले भने, ‘केहि वर्चश्ववादीहरु आफ्नो कमाई र रोजगार बचाई राख्न देश र मधेसले प्राप्त गरेको उपलब्धीलाई समाप्त गरिरहेका छन् । जनताको हित नहुने वर्तमान अवस्थालाई सफलताको रुपमा चित्रण गरिएको छ । मधेसँग भइरहेको गद्दारीलाई सफलताको रुपमा देखाउने प्रयत्न भइरहेको छ ।’

उनले मधेस सरकारको मुख्यमन्त्रीले महिनैपिच्छे विश्वासको मत लिनु र एकजना सांसद पनि विपक्षमा नहुनु जातीवाद र अहंकारवाद रहेको दाबीसमेत गरे । जनताको पक्षमा बोल्ने कोहि नभएपछि मधेस बर्बादीको बाटोतर्फ लागिरहेको उनको आशंका छ । उनले मधेसमा दलतन्त्र भन्दा पनि वर्चश्ववाद र जातीवाद हावी हुँदै गएको भन्दै यसले जनताको भलो नहुने बताए ।

मधेसको भुगोल मात्र नभई संस्कृती, संस्कार र चाडपर्वमा दिइने पहिचानवादी बिदाहरु समेत अव कटौती भएर ८ जिल्लामै सिमित भएको भन्दै हालको अवस्था कुन हिसावले मधेसको हितमा छ भन्ने कुराको बहस हुन आवश्यक रहेको उनको भनाइ छ ।

पार्टीका धनुषा जिल्ला ईन्चार्ज श्रीलाल महासेठले व्यवस्थापिकाले बनाएको कानुन न्यायपालिकाले नमान्नु शंकास्पद भएको बताए ।