बजेट कुनैपनि हालतमा पास हुन नदिने नेम्वाङको चेतावनी

जनकपुरधाम, २ असार । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पास हुन नदिने चेतावनी दिएका छन् ।
शनिबार पार्टीका मधेस प्रदेशसभा सदस्यहरुलाई प्रशिक्षण दिन जनकपुरधाममा आएका पूर्वसभामुख समेत रहेका नेम्वाङले यस्तो बताएका हुन् ।
सरकारले ल्याएको बजेट भेदभावपूर्ण रहेको जिकिर गर्दै उनले संसदबाट कुनै पनि हालतमा पास हुन नदिने बताए । भौतिक पूर्वाधार मन्त्रालयबाट ५ अर्बको बजेटमध्ये ५१ प्रतिशत बजेट ४ वटा जिल्लामा र बाँकी ४९ प्रतिशत बजेट ७३ जिल्लामा दिने गरी भेदभावपूर्ण रुपमा ल्याइएकाले समर्थन गर्न नसकिने उनको जिकिर छ ।
उपाध्यक्ष नेम्वाङले सरकारले अनिवार्य अवकाशमा जान लागेका कर्मचारीलाई मुख्यसचिव बनाउने र कार्यकाल बाँकी रहेका मुख्य सचिवलाई पदबाट राजीनामा दिन बाध्य बनाउने काम गरेको बताए । मुख्यसचिवलाई सुरक्षा परिषद्मा लगेर थन्क्याउनु देशको रक्षा र विकासका लागि हुन नसक्ने उनको भनाइ छ ।
उपाध्यक्ष नेम्वाङले नागरिकता पाउनुपर्ने वास्तविक व्यक्तिहरुले नागरिकता पाउन ढिलाइ गर्नु नहुने बताए । नागरिकताको विषय टुंगोमा पुर्याउने नाममा संविधान र नियमभन्दा पर जान नहुने उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


