काठमाडौं, ३१ जेठ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष पदका उम्मेदवार गणेश कार्कीले जलविद्युत क्षेत्रका समस्या समाधानका लागि नीतिगत सुधारलाई पहिलो प्राथमिकता दिने बताएका छन् ।

अध्यक्ष पदका उम्मेदवार कार्कीले जलविद्युत क्षेत्रमा नीतिगत रूपमा धेरै समस्या रहेको भन्दै आफूलाई निर्वाचित गराएमा देखिएका जलविद्युत क्षेत्रका समस्या समाधानका लागि नीतिगत सुधारलाई पहिलो प्राथमिकता राखेर काम गर्ने बताए । उनले सरकारले जलविद्युत क्षेत्रको विकास गर्नका लागि धेरै नीतिगत सुधार गर्न आवश्यक देखिएकाले सरकारसँग समन्वय गरी सुधारको पहल गर्ने प्रतिबद्धता जनाए ।

उनले ऊर्जा सम्बन्धी विद्यमान धेरै नीतिहरू जलविद्युत उत्पादन लागि बाधक रहेको भन्दै त्यस्ता नीति,नियम र ऐनहरू परिवर्तन गर्नुपर्ने बताए । उनले त्यस्ता खालका नीतिहरू परिवर्तन गराउँदै जलविद्युतमा लगानीमैत्री वातावरण बनाउने योजना सरकारले बनाउन दबाब दिने बताए । कार्कीले वनसम्बन्धी नीति नियमहरू,भूमि र विद्युत् प्राधिकरणले गर्नुपर्ने कामहरू धेरै रहेको बताए ।

उनले जलविद्युत उत्पादनको लाइसेन्स दिएर १० वर्षसम्म पीपीए खुला नगर्नु राम्रो नभएको बताए । उनले बैंकको ब्याजदर स्थिर नभएकाले समेत विद्युत् उत्पादकहरूलाई समस्या रहेको भन्दै बैंकको ब्याजदर कम गर्न सरकारसँग पहल गर्ने बताए । उनले इप्पानको अध्यक्षमा निर्वाचित भए जलविद्युत क्षेत्र मर्यादित र लगानीयोग्य बनाउन कोसिस गर्ने बताए । उनले आफूले इप्पानमा कार्यसमिति र उपाध्यक्ष भएर गरेको कामको आधारमा पनि आफू अध्यक्ष पदमा निर्वाचित हुने दाबी गरे ।

उनले ४५० सदस्यहरूको सक्षम नेतृत्व आफूले गर्ने भन्दै अत्यधिक मतसहित आफूले जित्ने जिकिर गरे । उनले आफ्नो प्यानलमा अनुभवी र सक्षम व्यवसायीहरू रहेकाले सबैले प्यानललाई विजय गराउने आशा रहेको बताए ।