जनकपुरधाम, ३१ जेठ । यो देश युवाहरूको हो र यसलाई बनाउने जिम्मा पनि युवाहरूकै काँधमा छ । देशको हरेक राजनीतिक आन्दोलन र परिवर्तनको इतिहास हेर्ने हो भने हरेक इतिहासमा युवाहरूको भूमिका अग्रस्थानमा रहेको पाइन्छ । तर, के ति युवाहरू कस्ता छन् भन्ने कुरामाथि हामीले कहिल्यै आफ्नो ध्यान केन्द्रीत गरेका छौं ? यो देश बनाउन कस्ता युवाहरूको आवश्यकता छ ? हल्ला र भीडको पछाडि दौड्ने्, ठूला÷पुराना दलका कुनै नेताको आमसभामा लाखौँको संख्यामा उपस्थित हुने्, नेताहरूको चुनावी आमसभा हुँदा जहाँ पनि पुग्न सक्ने, जति अराजक बन्न पनि तयार हुने, दलको झण्डा बोक्न र आफ्नो गुटको नेताको बचाउ गर्न जे पनि गर्न सक्ने, समसामयिक मुद्दामा स्वतन्त्र नागरिकको हैसियतले आफ्ना आवाज नउठाउने, आम नागरिकको जिम्मेवारीमा पर्ने सामान्य जिम्मेवारी समेत बहन नगर्ने युवा जमातको आवश्यकता छ त हामीलाई ? यस्ता युवाहरूले देश बनाउँछन् भनेर कसरी पत्याउने हामीले ?

पहिला पहिला भनिन्थ्यो, राजनीतिमा लाग्नु भनेको अन्धकारमा पस्नु हो भने साहित्यमा लाग्नु भनेको फूलबारीमा पस्नु हो । तर, अचेल त्यो परिभाषा बदलिएको छ । अब राजनीतिले नै देशको भविष्य निर्धारण गर्छ र गर्न सक्छ भन्ने कुरामाथि सबैको विश्वास बढ्दो छ । खासगरी युवाहरूले यस परिभाषालाई आत्मसात गरिसकेका छन् । युवा पनि त्यस्ता जो सचेत छन् । नभए माथि उल्लेख गरिएका रंगीबिरंगी प्रकारका युवाहरूले केही पनि गर्न सक्दैनन् । हाम्रो समाजमा जो सचेत युवा छन् उनीहरूले मात्र समाज र राष्ट्रको हित सोच्न सक्छन् । व्यक्तिगत स्वार्थमा लिप्त भएर राजनीतिमा प्रवेश गरी त्यसलाई अवसरको रूपमा प्रयोग गर्ने युवाहरूको न कुनै काम छ न त कुनै अस्तित्व नै ।

अहिले देशलाई आलोचनात्मक चेत, मानवीय संवेदना र विवेकको उच्चतम उपयोग गर्न सक्ने युवाको खाँचो छ । तीनै युवाहरू मध्ये हुन् जनकपुरधामका आदर्श मण्डल, अमित ठाकुर र किशन साह । यिनीहरू तिनैजना फरक–फरक राजनीतिक दलमा आवद्ध रेपनि समाज र राष्ट्रको हितमा सोच्न सक्ने ल्याकत राख्छन् ।

किशन साह

लोकतान्त्रिक विद्यार्थी संघकै किशन साह २०७४ देखि यस पार्टीमा आबद्ध छन् । जनकपुरधाम उपमहानगरपालिका–१ पूलचोक बस्ने उनी हाल २२ वर्षका भए । किशन भन्छन्, ‘राजनीति फोहोर भयो भनेर औँला ठड्याएर मात्र युवाको दायित्व पूरा हुँदैन । सचेत युवा र राजनीति सँगसँगै अभिन्न रूपले जोडिएका पाटा हुन् । राजनीति केवल सान, सौकात र पदका लागि मात्र गर्ने चिन होइन । यो त विकास र समृद्धिका लागि गर्ने हो । राजनीतिलाई सेवा ठान्ने हो न कि पेशा बनाउने ।’

हरेक क्षेत्रमा अब्बल हुनेको रोजाइ राजनीति हुनुपर्ने किशन बताउँछन् । राजनीतिलाई असल नीतिहरूको नीति बनाउनु आवश्यक रहेको उनको भनाइ छ । हरेक नयाँ पुस्ता पुरानो पुस्ताभन्दा अब्बल हुनैपर्ने र यसका लागि युवापुुस्ता राजनीतिमा भित्रिन अपरिहार्य रहेको किशनको जिकिर छ । साथै युवाले गतिशीलता, सिर्जनशीलता र युगसापेक्षतालाई अँगाल्न आवश्यक रहेको उनको भनाइ छ ।

राजनीतिमा युवापुस्ता स्थापित भएन भने समाज विकासको गति अवरुद्ध हुने उनी बताउँछन् । समाजले राजनीतिमा युवाको कस्तो भूमिका अपेक्षा गरेको छ र युवाले पनि कस्ता भूमिका निभाएका छन् भन्ने विषयमा युवाले नै सोच्नुपर्ने आवश्यकता रहेको किशनको धारणा छ ।

मधेसको अधिकारका लागि आफू राष्ट्रिय जनता पार्टी (राजपा) रहेकै बेला राजनीतिमा आबद्ध भएको बताउँदै किशन भन्छन्,‘ मधेस आन्दोलनको सेन्टिमेन्ट हेरेर मैले राजनीतिमा होमिने सोच बनाए । त्यतिबेला समाजमा राजनीतिज्ञलाई क्रुरको संज्ञा दिइन्थ्यो । नयाँ युवा पुस्तालाई समस्या धेरै थियो । ति सबैलाई थिचोल्दै मैले समाजका लागि केही राम्रो गर्ने सोच बनाएर राजनीतिलाई सेवाको रुपमा अ‍ैगालेको छु ।’

किशनले पार्टीको मर्यादालाई कायम राख्दै साथीहरूको सहयोगले समाज परिवर्तनको दिशामा सदैव अग्रसर रहने प्रतिबद्धतासमेत जनाएका छन् ।

अमित ठाकुर

विद्यार्थी राजनीतिमा सक्रिय २० वर्षीय अमित ठाकुर जनकपुरधामको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा ब्याचलर प्रथम वर्षमा अध्ययनरत छन् । महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर–२ सिंग्याही स्थायी घर भएका ठाकुर हाल जनकपुरधाम–४ बसहिया रोडमा बस्छन् ।

२०७५ सालदेखि राजनीतिमा लागेका उनी हाल लोकतान्त्रिक विद्यार्थी संघ जनकपुरधामका नगर अध्यक्ष हुन् । विद्यार्थी आन्दोलनको लामो अनुभव सँगालेका उनले विभिन्न आन्दोलनको अगुवाइ गरेका छन् । बदलिएको सन्दर्भमा विद्यार्थी आन्दोलनको दिशा, युवा–राजनीतिलगायत विषयमा ठाकुरले आलोचनात्मक कोणबाट पनि विभिन्न टिप्पणीहरू गरिरहन्छन् ।

उनी भन्छन्, ‘एक समय युवापुस्ताको दबदबा रहेको नेपाली राजनीतिमा अहिले युवाको उपस्थिति पातलिएको छ । अधिकांश युवा नेताको पछुवा बन्नमै रमाएका छन् । आलोचनात्मक चेतलाई मूलधारका पार्टीहरूले नरुचाएको आभास मसँग छ । परिणामतः युवाहरू राजनीतिबाट टाढिने क्रम बढ्दो छ । यसमा युवापुस्ता सचेत बन्नैपर्छ ।’

राजनीतिमा आबद्ध व्यक्तिले नै यसलाई फोहोरी खेलको संज्ञा दिइरहेको र युवालाई राजनीतिमा आउन हतोत्साहीत बनाउने गरेको उनको धारणा छ । उनले यि र यस्ता धेरै नकारात्मक गतिविधीहरूलाई छिचोल्दै आफू शिक्षित यूवा भएर राजनीति गर्न चाहिरहेको बताएका छन् ।

आदर्श मण्डल

धनुषाको नगराईन नगरपालिका–६ लगमा गाठागुठी बस्ने २१ वर्षीय आदर्श मण्डल विगत ६ वर्षदेखि विद्यार्थी राजनीतिमा सक्रिय छन् ।२०७४ सालमा एसईइ पास गरेका उनी २०७४ मै राजनीतिमा होमिए ।

हाल उनी जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयमा बिए एलएलबी थर्ड सेमेस्टरमा अध्ययनरत छन् । नेकपा एमाले पारिवारिक ब्याक ग्राउण्डबाट राजनीतिमा आबद्ध आदर्श अहिले अनेरास्ववियूका केन्द्रीय सदस्य हुन् ।

उनलाई तपाईं राजनीतिमा कसरी प्रवेश गर्नुभयो भनेर सोध्दा उनी भन्छन्, ‘म २०७४ सालमा एसईइ पास भएपछि महात्मा गान्धी छात्रवृतिका लागि सिफारिश लिन नगराईन नगरपालिकास्थित वडा नम्बर–६ को कार्यालय पुगेको थिएँ । त्यतिबेला नेपाली कांग्रेसका धनवीर मण्डल वडाध्यक्ष हुनुहुन्थ्यो । मैले सिफारिशका लागि पटक पटक वडा कार्यालय धाउँदा पनि वहाँले मेरो काम गरिदिनु भएन । र, अन्तोगत्वा मैले छात्रवृति पाउन सकिन ।’

आदर्शले आफू त्यतिबेलादेखि नै यस भ्रष्ट सिस्टमको विरोध गर्न राजनीतिमा होमिने संकल्प लिएको सुनाउँछन् । देशको राजनीतिक सिस्टम नै भ्रष्टहरूको हातमा रहेकोले सक्षम युवाले चाहेर पनि केही गर्न नसक्ने आदर्शको तर्क छ ।

भ्रष्टाचारलाई जरैदेखि समाप्त पार्न र डिग्री लिएर राजनीति गरे केही उपलब्धी हुन्छ कि भन्ने सोचले अभिप्रेरित भएर अहिले पढाई सँगै राजनीतिलाई पनि अगाडि बढाईरहेको उनको भनाइ छ । अध्ययनमा असर परे राजनीतिबाट केही समयका लागि विराम लिएर भएपनि अध्ययन पूरा गरी फेरि राजनीतिमै फर्किने उनको योजना छ । आदर्शले देशलाई सचेत, शिक्षित र सक्षम युवाको आवश्यकता भएकोले आफू सोहीअनुरुप अगाडि बढिरहेको बताउँछन् ।