जनकपुरधाम, ३० जेठ । शिक्षा विकास तथा समन्वय इकाई धनुषाले जिल्लाको एक विद्यालयमा एउटै पदमा दुईजना शिक्षकको दरबन्दी कायम गरेको छ ।

जिल्लाको औरही गाउँपालिका–१ स्थित श्री रामजानकी मावि झिटकोहियामा शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख युक्त प्रसाद शर्माले बदमासी गरी एउटै पदमा दुईजना शिक्षकको दरबन्दी कायम गरेका हुन् ।

प्रस्तावित माविहरुमा जिल्ला शिक्षा समितिको निर्णयअनुसार बढि दरबन्दी रहेको माविहरुबाट दरबन्दी काटेर प्रस्तावित माविहरुमा राखिने गरिएकोमा श्री रामजानकी माविमा श्यामबाबु यादवलाई दरबन्दी कायम गरी उनले कामकाज गरिरहेको अवस्थामा तत्कालिन शिक्षा कार्यालयले उनलाई २०७३ माघ २८ गते मावि बेल्हीको स्रोत व्यक्तिमा तानेको थियो ।

त्यसपछि शदिनगर नगरपालिकास्थित एसएनआर जमावि धवौलीका शिक्षक मदनकुमार महरालाई उक्त दरवन्दीमा पद सरुवा गरी २०७३ फागुन ८ गते काजमा खटाइएको थियो । उनलाई २०७६ चैत ३ मा सोही ठाउँमा पदस्थापना पनि गरियो ।

अहिले फेरि सरस्वती मावि कटरैतमा कार्यरत विवादित शिक्षक बद्रीनारायण यादवलाई पूर्वपालिका प्रमुख ब्रम्हदेव यादवले आर्थिक चलखेल गरी माविको एउटा मात्रै दरबन्दी रहेको मदन महरा प्रधानाध्यापकको रुपमा कार्यरत रामजानकी माविमा पठाइएको हो ।

अभिभावकले पनि विरोध गरि जिल्ला शिक्षा समन्वय समितिको अध्यक्षकोमा गई इकाईलाई फोन गरेर रोक्न लगाएको र प्रजिअले पनि रोक्न लगाएको अवस्थामा वडा नम्बर–१ का वडाध्यक्ष अशेश्वर यादवसँग भित्रभित्रै चिठी बनाएर फर्जी तोक लगाई विद्यालयमा पठाएको प्रधानाध्यापक महराको आरोप छ । विद्यालयका लेखापालसँगको मिलोमतोमा बद्रीनारायणले हाजिरी गराएको उनको गुनासो छ । उनले कसैलाई निमित्त नै नतोकिएको आफ्नो विद्यालयको छाप र लेटरप्याड दुरुपयोग गरी यादवले हाजिरी गरेको भन्दै इकाईलाई पठाइएको जानकारीसमेत दिए ।

यसअघि जेठ ११ गते वर्तमान गाउँपालिका अध्यक्ष उमाशंकर प्रसाद साहले शिक्षा विकास तथा समन्वय इकाईलाई पत्र लेख्दै रामजानकी मावि झिटकोहियामा मावि शिक्षकको पदमा अन्य कोही सरुवा भई आउन लागेको विषय जानकारी भएको हुँदा उक्त पदमा तत्कालका लागि अन्य कसैलाई सरुवा भई नपठाउन आग्रह गरिसकेका छन् ।

उक्त विद्यालयमा मावि तहको दरबन्दी संख्या एक मात्रै रहेपनि इकाईले दरबन्दी भन्दा बढी सोही तहका विवादित शिक्षक पठाएपछि स्थानीयहरु आक्रोशित भएका छन् । आर्थिक चलखेल तथा राजनीतिक दबाबमा परि इकाई प्रमुख शर्माले मावि दरबन्दीमा सोही तहका प्रधानाध्यापक मदन कुमार महरा कार्यरत हँुदाहुँदै दरबन्दी भन्दा बाहिर विवादित शिक्षक बद्रीनारायणलाई त्यहाँ पठाएपछि विवाद बढेर विद्यालयको शैक्षिक वातावरण बिग्रिने अवस्थामा पुगेको छ ।

दरबन्दीनै नभएको ठाउँमा पालिकासँग समन्वय समेत नगरी एक्लौटी ढंगले इकाईले शिक्षक पठाएपछि पालिका पनि आक्रोशित भएको छ । दरबन्दी भन्दा बाहिरको शिक्षकलाई तलब समेत नखुवाउने पालिकाले स्पष्ट पारेको छ ।

विवादित शिक्षक यादवलाई त्यहाँ पठाउन खोजेको सूचना पाएपछि औरही गाउँपालिका कार्यालयले शिक्षा विकास तथा समन्वय इकाई धनुषालाई आफू कहाँ दरबन्दी नरहेकोले तत्कालका लागि थप शिक्षक नपठाउन पत्राचार गरेको थियो । गाउँपालिकाको कार्यालयले २०८० जेठ ११ गतेको चलानी नं. १०९४ को पत्र मार्फत तथा पटक–पटक इकाई प्रमुख शर्मालाई फोन गरि गाउँपालिका अध्यक्ष उमाशंकर प्रसाद साहले थप शिक्षक तत्काल नपठाउन भनेका थिए । तर, इकाई प्रमुख शर्माले गाउँपालिकाको पत्रलाई समेत अटेर गरि जर्बजस्ती थप शिक्षक पठाएपछि विद्यालय विवादमा फँसेको हो ।

यस विषयमा जिज्ञासा राख्दा इकाई प्रमुख शर्माले ठोस जवाफ दिन सकेनन् । सुरुमा जिल्ला शिक्षा समितिको निर्णय भन्दै पन्छिन खोजेपनि इकाई प्रमुख शर्माले पछि आफूले उक्त शिक्षकलाई नपठाएको र सो चिठ्ठी फर्जी रहेको दाबी गरेका थिए । तर, इकाई प्रमुख शर्माकै हस्ताक्षर सहितको २०८० जेठ २२ गतेको चलानी नं. १६८८ पत्रको फोटोकपी लिएर विवादित शिक्षक यादव हाजिर हुन पुगेका थिए । उक्त पत्रमा अधिकार भन्दा बाहिर गई काँग्रेसबाट निर्वाचित वडा नं. १ का वडाअध्यक्ष आशेश्वर यादवले हाजिर गराउन तोक आदेश गरेका थिए ।

आर्थिक चलखेलमा परि इकाई प्रमुख शर्माले पालिकासँग समन्वय नै नगरी नियम विपरित सिधै विद्यालयमा शिक्षक पठाएपछि जिल्ला शिक्षा समितिका अध्यक्ष समेत जिल्ला समन्वय समितिका सभापति राजनन्दन मण्डल समेत आक्रोशित भएका छन् । यस विषयमा ध्यानाकर्षण भएपछि सभापति मण्डलले इकाई प्रमुख शर्मालाई बोलाई सोधपुछ गर्दा आफूले चिठ्ठी नदिएको र उक्त चिठ्ठी फर्जी रहेको जवाफ दिएको सभापति मण्डलले बताए ।

सभापति मण्डलले जिल्ला शिक्षा समितिमा यस विषयमा कुनै किसिमको निर्णय नै नभएको स्पष्ट पारेका छन् । सभापति मण्डलले उक्त चिठ्ठी कार्यान्वयन नगर्न समेत इकाईलाई निर्देशन दिएका छन् । आफू समक्ष गाउँपालिका अध्यक्षसहित स्थानीय अभिभावकहरुको डेलिगेसन आएपछि मात्रै आफूलाई यो विषयमा जानकारी भएकोले तुरुन्तै आफू सहित गाउँपालिका अध्यक्ष, इकाई प्रमुख र प्रमुख जिल्ला अधिकारी बाहिर भएकोले सहायक प्रमुख जिल्ला अधिकारीसँग संयुक्त बैठक बसी उक्त चिठ्ठी कार्यान्वयन नगर्न इकाईलाई निर्देशन दिएको सभापति मण्डलले बताए ।

एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका धनुषा अध्यक्ष ध्रमेन्द्र यादवले बिचौलिया तथा शैक्षिक माफियाहरुको दबाब तथा चंगुलमा फसी इकाई प्रमुख शर्माले शिक्षा क्षेत्र तहसनहस पार्न खोजेको आरोप लगाए । अध्यक्ष यादवले अहिलेको इकाई प्रमुखले इकाईकै केही कर्मचारी, बिचौलिया तथा शैक्षिक माफियाहरुसँग मिली आर्थिक लाभ लिने उद्देश्य राखेर शिक्षकहरुलाई अनावश्यक दुःख दिई राम्ररी चलिरहेको विद्यालयहरुलाई बर्बाद पार्न खोजेको आरोप लगाए ।

कर्मचारी नै नभएका व्यक्ति दर्ता चलानी फाँटमा

शिक्षा विकास तथा समन्वय इकाई धनुषाको दर्ता चलानी फाँटको जिम्मेवारी कर्मचारी नै नभएको व्यक्तिलाई दिइएको पाइएको छ । उक्त फाँटको जिम्मेवारी मुजेलियाका धनेश्वर दासलाई दिइएको हो ।

दास कर्मचारी नै नरहेका व्यक्ति हुन् । न त उनलाई नियुक्ति गरिएको छ न त उनी तलब भत्ता नै खान्छन् । तर, उनी कार्यालयको मुटु मनिने दर्ता चलानी फाँटमा बस्छन् । दास कार्यालयको कुनै पनि पदमा नियुक्त नभई कार्यालयको गोप्य तथा संवेदनशिल मानिने फाँटमा बस्छन् ।

उनी आफैँ पनि मलाई कुनै पनि पदमा नियुक्ति नगरिएको स्वीकार्छन् । न त तलब भत्ता नै खान पाएको भन्छन् । उनले आफूलाई रिना म्याड्मले काममा लगाएको बताए ।

इकाईकी प्राविधिक सहायक रिना साहले उनलाई व्यक्तिगत हिसाबले बोलाई उक्त फाँटको जिम्मेवारी दिएकी छिन् । जिल्लाभरि नै शिक्षा क्षेत्रमा बदमास कर्मचारीको रुपमा परिचय बनाएकी साहकै लगावका कारण कार्यालयमा बिचौलियाहरुको हालीमुहाली बढेको शिक्षा क्षेत्रसँग सरोकार राख्नेहरु बताउँछन् । यस विषयमा बुझ्न खोज्दा इकाई प्रमुख शर्मा फोन सम्पर्कमा आउन चाहेनन् ।