जनकपुरधाम, ३० जेठ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दोस्रोपटक विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री यादवलाई १०३ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका हुन् ।

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव दोस्रोपटक विश्वासको मत लिएका छन् । नेकपा एमाले सरकारबाट बाहिरिएको ३० दिन पुगे पनि विश्वासको मत लिन आलटाल गरिरहेका मुख्यमन्त्री यादव कानुनी अड्चनबाट बच्न विश्वासको मत लिएका हुन् ।

नेकपा एमाले सरकारबाट बाहिरिएपछि विश्वासको मत लिनुपर्नेमा मुख्यमन्त्री यादवले कुनै मतलब गरेका थिएनन् । ३० दिनभित्र विश्वासको मत नलिए अदालतमा रिट पर्ने र त्यो मुख्यमन्त्रीको अनुकूल नहुने उनका कानुन व्यवसायीले सल्लाह दिएपछि उनले आकस्मिक बैठक बोलाएर विश्वासको मत लिएका छन् ।

प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले प्रस्तावको पक्षमा १०३ र विपक्षमा शून्य मत खसेको सदनलाई जानकारी दिए । १०७ सदस्यीय प्रदेशसभामा मंगलबार ३ जना सांसद अनुपस्थित थिए । सभामुख मण्डलले भने मतविभाजन प्रक्रियामा सहभागिता जनाएनन् ।

मुख्यमन्त्री यादवले प्रदेशसभाको पहिलो ठूलो दल नेकपा एमाले र दोस्रो ठूलो दल नेपाली कांग्रेसको पनि विश्वासको मत प्राप्त गरेका छन् भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० वटै दलले उनलाई विश्वासको मत दिएको छ ।

यसअघि २०७९ पुस २७ गते प्रदेशसभाका १० दलमध्ये ७ दल र २ स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा यादवलाई नेपाली कांग्रेस, लोसपा र नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन गरेको थिएन । पछि लोसपाका ९ जना प्रदेशसभा सदस्यले पनि समर्थन दिंदा उनले ७२ सांसदको समर्थन पाएका थिए । प्रदेशसभामा ७ जना मात्र सांसद रहेको नेकपा एकीकृत समाजवादी पार्टीले पनि पक्षमा मतदान गरेको थियो ।

अब मधेस प्रदेशसभामा प्रतिपक्षी दलको रुपमा कोही छैनन् । मुख्यमन्त्री यादवले एमाले र कांग्रेससहित १० वटै दलको विश्वास जुटाउन सफल भएका छन् । मुख्यमन्त्री यादवले अब नेकपा एमालेका २४, कांग्रेसका २२, जसपाका १६, जनमत पार्टीका १३, लोसपाका ९, नेकपा माओवादी केन्द्रका ९, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टीका १, नेपाल संघीय समाजवादी पार्टीका १ तथा स्वतन्त्र प्रदेशसभा सदस्यहरुको समर्थन छ ।

मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रस्तावमा नेकपा एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुर, नेपाली कांग्रेसबाट कुमरकान्त झा, जसपाबाट लालबाबु राउत, जनमत पार्टीका चन्दन सिंह, लोसपाको संसदीय दलका नेता अभिराम शर्मा, नेकपा माओवादी केन्द्रबाट युवराज भट्टराई, नेकपा एकीकृत समाजवादीका कनिश पट्टेल, नेपाल संघीय समाजवादीकी विमला अन्सारी, राप्रपाकी कञ्चन बिच्छा, स्वतन्त्र सांसद अनिरुद्ध प्रसाद सिंह र प्रमोद जयसवालले रोस्टमबाटै सर्मथन रहेको घोषणा गरेका थिए ।

मधेस प्रदेश सरकारको दोस्रो कार्यकालका लागि २९ पुस २०७९ मा शपथ लिएसँगै कार्यभार सम्हालेका मुख्यमन्त्री सरोजकुमार यादवलाई ४ माघमा बसेको प्रदेशसभा बैठकमा १०२ जना प्रदेशसभा सदस्यले पहिलो पटक विश्वासको मत दिएका थिए । मुख्यमन्त्री नियुक्त भएको नवौँ दिनमा उनले विश्वासको मत पाएका थिए ।