विराटनगर, ३० जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जतिसक्दो चाँडो सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व छाड्नुपर्ने बताएका छन् ।

विराटनगरमा मंगलबार बिहान पत्रकारसँग कुराकानी गर्दै महामन्त्री थापाले आमकार्यकर्ताले कांग्रेसबाट नयाँ प्रधानमन्त्री भएको हेर्न चाहेको दाबी गरेका हुन् ।

थापाले भने,’जति छिटो नेपाली कांग्रेसको नेतृत्व उहाँले हस्तान्तर गरिदिनुभयो, जोसुकै होला अरु कसैले पार्टी नेतृत्व गर्ने अवसर पायो । त्यो उहाँको हितमा पनि होला ।’

नेपाली कांग्रेसको नेतृत्व मैले गरिरहनुपर्छ। मैले गरिनँ भने पार्टी सम्हालिन्न भन्ने सोच त्याग्न उनले देउवालाइ आग्रह पनि गरे ।

गठबन्धनमा आलोपालोमा एकपटक कांग्रेसबाट प्रधानमन्त्री बन्ने र देउवाको साटोमा नयाँ अनुहार जनताले खोजेको थापाको भनाइ छ ।त्यसका निम्ति सभापतिले पार्टीको नेतृत्व र कांग्रेसको तर्फबाट प्रधानमन्त्री हुने कुरामा मार्गप्रशस्त गर्नुपर्ने थापाको सुझाब छ ।