–मुकेश झा
सर्लाही, २९ जेठ । आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको अन्तिम चरणमा पालिकाहरु रहिरहँदा सर्लाहीको हरिपूर्वा नगरपालिका र पर्सा गाँउपालिकामा रहेको नगर स्तरीय बाल सञ्जालको भेलाबाट योजना छनौट गरि पालिकालाई हस्तान्तरण गरिएको छ ।

वल्र्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा वागमती सेवा समाज नेपालको सहयोग तथा हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकाको समन्वयमा दुवै पालिकामा बाल क्लवको बालबालिकालाई दुई दिन लगाएर छनौट गरिएको योजना पालिकाका बालबालिकाले छुट्टाछुट्टै कायक्रमका बिच नगरप्रमुखलाई हस्तान्तरण गरेका हुन् ।

बालबालिकाले बुझाएको योजनामा बालबालिकाको क्षेत्रमा धेरै भन्दा धेरै बजेट तयार पार्न आग्रह गरिएको छ । बालबालिकाले आगामी वर्षको बजेटमा बालमैत्रीपूर्ण निमाण गर्न आग्रह गरेका छन् भने स्कुलमा सेनेटरि प्याड डिस्पोज स्थान तथा मेसिनको व्यवथापन गर्न आग्रह गरिएको छ ।

विद्यालय भवन निर्माण, शिक्षक तथा उच्च शिक्षाका लागि क्याम्पसको व्यवस्था, बालमैत्री स्थान शासन निर्माणको लागि पहल गर्न पनि आग्रह गरिएको छ । बालबालिकाले छनौट गरेको योजनामा खेल मैदान ,विद्यालयमा पिउन योग्य पानिको व्यवस्था, बालबिवाह विरुद्धको कार्यक्रम, दाइजोप्रथा बिरुद्धको जनचेतनामुलक कार्यक्रम, आर्थिक अवस्था कमजोर रहेका बालबालिकालाई थप छात्रवृति माग गरेका छन् । बालबालिकाले लागूऔषद्ध बिरुद्धको जनचेतनामुलक कायक्रम, पालिका लगायतका स्थानमा निर्माण हुने संरचना अपाङ्ग मैत्री हुनु पर्ने योजना छनोट गरेका छन् ।

त्यस्तै, ट्राफिकको नियमबारे जानकारीमुलक कार्यक्रम र स्कुल, मठ मन्दिर अगाडि जेबरा क्रसिङ लगायतका योजना राखेका छन् । पर्सा गाउँपालिकामा १९ र हरिपूर्वा नगरपालिकामा बालबालिकाले छनौट गरेको २८ बुँदे योजना बुझाएका छन् ।

योजना बुझ्दै पर्सा गाँउपालिकाका प्रमुख धिरेन्द्र यादवले बालबालिकाले छनौट गरेका योजना सबै आवश्यक रहेको र आफ्नो पालिकाको क्षमताले भ्याएसम्म योजना राख्ने बताए ।

हरिपूर्वा नगरपालिकाकाका प्रमुख विनोद कुमार साहले यसरी बालबालिकाले योजना छनौट गरिदिँदा पालिकाले बिभिन्न क्षेत्र, संघसंस्था लगायत व्यक्तिसँग योजना छनौट गरि राख्नुपर्ने ठाँउमा बालबालिकाले सबै क्षेत्रलाई समेटेर योजना बनाएकोमा खुसि व्यत्तल गरे ।

उनले सानो उमेरमा योजना छनौट गर्न सिक्दा मागको आधारमा विकास र्गन सहज र आवश्यकता बुझेर विकास गर्दा यसले सार्थकता समेत पाउने बताए ।