जनकपुरधाम, २९ जेठ । महोत्तरीको भिठ्ठामोडस्थित एक पसलमा पानी किन्ने विषयमा विवाद हुँदा जनकपुरधामका एकै परिवारका तीनजनामाथि निर्घात कुटपिट गरिएको छ ।

महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरभिण्डा घर भई जनकपुरधाम उपमहानगरपालिका–६ बस्दै आएकी ३६ वर्षीया सविता देवी महतो, उनका भाइद्वय ३२ वर्षीय सुजित साह र २५ वर्षीय सुनिल साहलाई निर्घात कुटपिट गरिएको हो ।

भारतबाट फर्किरहेका उनीहरु भिठ्ठामोडस्थित शिवम होटेलमा पानी किन्न पुगेका बेला विवाद भएको र सोही क्रममा होटल सञ्चालकसहितका व्यक्तिले तीनैजनामाथि निर्घात कुटपिट गरेको पीडितले बताएका छन् ।

एकबोतल पानी किन्दा ५० रुपैयाँ भारु उनीहरुले दिएका थिए । तर, होटेल सञ्चालकले नेपाली रुपैयाँ दिनु पर्छ नभए पानी नदिने भनेपछि विवाद भएको थियो । त्यसै क्रममा सञ्चालकसहितकाले आफूहरुमाथि कुटपिट गरेको पीडित सुजित साहले दुःखेसो पोखे ।

कुटपिटबाट सविताको तालु फुटेको छ भने सुजितको टाउकोमा चोट लागेको छ । सुनिलको कान र पिठ्युमा गम्भीर चोट लागेको छ ।उनीहरुको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।

विवाद पश्चात प्रहरी घटनास्थल पुगेपनि कुटपिट गर्नेहरुलाई पक्राउ नगरेको पीडितको गुनासो छ । महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले घटना विषयमा बुझ्ने प्रयास गरिरहेको र दोषीलाई कारबाही गरिने बताए ।

यता, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जनकपुरधामका व्यापारी सुजित साह, सविता देवी महतो र सुनिल साहमाथी भिठ्ठामोडमा सांघातिक प्रहार गरि गम्भीर घाइते बनाएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

अध्यक्ष महासेठले घटनाप्रति जनकपुरधाम उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीमाथि कडा कानुनी कारवाहीको माग गरेका छन् ।