जनकपुरधाम, २९ जेठ । आज २१औँ विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै छ । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाइने गरिएको छ ।

नेपालमा पनि बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरुले बालश्रम विरुद्धको दिवस मनाएका छन् । बालबालिकालाई श्रमिकका रुपमा प्रयोग गरिने कार्यविरुद्ध बालश्रम विरुद्धको दिवस मनाउन थालिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार बिहान प्रभातफेरिको आयोजना गरि यो दिवस मनाएको हो । प्रभातफेरि पश्चात स्थानीय जनकचोकमा आयोजित कार्यक्रममा बोल्दै धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले स्नातक नगरेसम्म काममा लगाउन नपाइने कानुन बन्नुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले किशोर किशोरीलाई घरबाट भागेर विवाह नगर्न र बालविवाह गराउन खोज्दा अभिभावकलाई पनि जिद्दी गरेर सम्झाउन आग्रह गरे ।

बालश्रम विरुद्ध आईएलओ महासन्धि १८२ र श्रममा प्रवेश गर्ने न्युनतम उमेर सम्बन्धि महासन्धि १३८ कार्यान्वयनको सन्दर्भ पारेर सन् २००२ देखि १२ जुनलाई विश्व बालश्रम विरुद्धको दिवसका रुपमा मनाउन थालिएको हो ।

अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ कन्भेसनको भाग १३८ मा नेपालले पनि हस्ताक्षर गरि एैक्यवद्धता जनाएको छ । नेपालमा बालबालिकासम्बन्धी ऐन २०४८ ले १६ वर्षमुनिकालाई बालबालिका भनेर परिभाषित गरेको छ ।