जनकपुरधाम, २८ जेठ । जनता समाजवादी पार्टी, नेपाल धनुषाको आन्तरिक विवाद चरम उत्कर्षमा पुगेको छ ।

गत जेठ ४ गते पार्टीको मधेश प्रदेश समितिद्वारा जिल्ला समन्वय समिति धनुषा पुनर्गठन गर्ने निर्णयअनुसार धनुषामा सो पार्टीका दुईजना अध्यक्ष बनेका छन् ।

जनता समाजवादी पार्टी(जसपा)नेपाल धनुषाको जेठ १३ गते नवगठित ५१ सदस्यीय जिल्ला समन्वय समिति मध्ये दुई तिहाई भन्दा बढी सदस्यले शपथ ग्रहण बहिष्कार गरेका थिए ।

जसपा मधेस प्रदेश समितिले पशुपति यादवको अध्यक्षतामा गठन गरेको ५२ सदस्यीय जिल्ला समन्वय समितिको शपथ ग्रहण कार्यक्रम उपाध्यक्ष, सचिव लगायत ३७ जनाले बहिष्कार गरेका थिए ।

प्रदेश समितिले पशुपति यादवको अध्यक्षतामा जिल्ला समिति घोषणा गरेलगत्तै शत्रुधन यादवको नेतृत्वमा ३७ जना सदस्यले अल्लगै संघर्ष समिती गठन गरेपछि शपथ ग्रहण कार्यक्रममा १३ जनामात्र सहभागी भएका थिए । जसमध्ये अध्यक्ष यादव र बरिष्ठ उपाध्यक्ष रामाशंकर पासवान लगायत ११ जनाले मात्र शपथ लिए भने अन्य दुईजना शपथ लिन अस्विकार गर्दै प्रदेश समितीमा फरक मत दर्ता गराएका थिए ।

जिसस संघर्ष समितीका संयोजक शत्रुधन यादवले मधेस प्रदेशको लेटर प्याड प्रयोग गदी प्रदेशका मुख्यसचिव दिनेश यादवद्वारा जारी विज्ञाप्तीप्रति आफूहरुको असहमती रहेको बताएका थिए ।

पार्टीको विधानको मुल मर्म विपरीत आफैं असक्षम घोषणा गरी विघटन गरेको जिससका अध्यक्षलाई पुनः स्थगित हुने गरी अध्यक्ष चयन गर्न र जिससको विस्तारित बैठकद्वारा गठीत कार्यदलको बहुमत सदस्यको रायलाई अवज्ञा गरी गरेको निर्णय नसच्याइएसम्म आफूहरु संघर्षमा रहने संयोजक यादवले चेतावनी दिएका थिए ।

यता, आइतबार आफूलाई अध्यक्ष दाबी गर्ने दुबैजनाले फरक फरक विज्ञप्ती निकाल्दै एकअर्कालाई पार्टीबाट निष्काशनको कारवाही गरेका छन् ।

अध्यक्ष पशुपति यादवले पार्टीका सदस्य शत्रुधन यादवले विगतका दिनदेखि पार्टीभित्र गुटबन्दी गर्ने, पार्टीको नीति निर्देशन नमान्ने र पार्टी हित विपरित क्रियाकलापहरु गर्ने गरेको आरोप लगाएका छन् ।

उनले जेठ ४ गते मधेश प्रदेश समितिद्वारा जिल्ला समन्वय समिति धनुषा पुनर्गठन गरि घोषणा गरेको निर्णयविरुद्ध समेत केहि जिल्ला सदस्य लगायतलाई भ्रमित गरि पार्टीको विधान विपरित स्वेच्छाचारी तथा अराजक तरिकाले आफ्नो अध्यक्षतामा समानान्तर जिल्ला समन्वय समिति गठन गरेकोले शत्रुधन यादव पार्टीको विधानको धारा ४९ को उपधारा १, २, ३ र ७ बमोजिम गम्भीर अनुशासन उल्लङ्घन गरेको आरोप लगाए ।

यादवलाई स्पष्टिकरण सोध्दा समेत कुनै जवाफ नदिई अटेरी गरि अनुशासन मिच्ने कार्य गरेकोले पार्टीको विधानको धारा ५० को उपधारा १ बमोजिम पार्टीको सदस्यताबाट निष्काशनको कारवाही गरिएको अध्यक्ष पशुपति यादवद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

अर्कोतर्फ, अर्का अध्यक्ष शत्रुधन यादवले पनि विज्ञप्ती जारी गर्दै जनता समाजवादी पार्टी नेपालको अन्तरिम विधानको धारा ४८ मा आन्तरिक लोकतन्त्रलाई मजबुत पार्न र संगठनभित्र आफ्नो विचार समेतलाई संस्थागत गर्न गरिएको व्यवस्था बमोजीम बहुमत सदस्यहरुको मुल्य र मान्यतालाई समेत वेवास्ता गर्दै आफुखुसी अध्यक्ष पदको दुरुपयोग गरी जिल्ला सदस्य पशुपति यादवले निकालेको प्रेस विज्ञप्तीप्रति आफ्नो गम्भीर ध्यानाकषर्ण भएको जनाएका छन् ।

जनता समाजवादी पार्टी नेपाल धनुषा जिल्ला समन्वय समितीको अध्यक्ष पदमा पशुपतीले विगत ५ बर्षसम्म एउटापनि वैठक राख्न नसक्नु, स्थानीय, प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा समेत पार्टीका उम्मेदवारहरुलाई हराउन आफ्नो दुष्प्रयास गरेको कुरा गठित छानविन समितीमा उजुरी समेत परेको र उनको गैरराजनीतिक र निकृष्ट क्रियाकलापको भिडियो समेत प्रमाणको रुपमा सार्वजनिक भएकोले यादवमाथि विधानको धारा ४९ अन्तर्गत सम्बधित बुँदाहरूको उल्लंघन गरेको आरोप लगाइएको छ ।

अल्पमत सदस्यहरूको आडमा बहुमत सदस्यको निर्णयलाई चुनौती दिंदै पार्टीभित्र गुट उपगुट खडा गरी पार्टी हितविपरित काम गरकोले पशुपति यादवलाई विधानको धारा ५० को (१) बमोजिम पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासनका लागि सिफारीश गरिएको अर्का अध्यक्ष शत्रुधन यादवद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

अध्यक्ष शत्रुधन यादवले सार्वजनिक गरेको एक अडियो क्लिपमा अर्का अध्यक्ष पशुपति यादवले गंगाराम यादवको घरमा बसेको बैठकमा चुनावका बेला धनुषाको टिकट पार्टी अध्यक्ष उपेन्द्र यादवले बेचेको आरोप लगाएका छन् ।

उनले क्षेत्र नम्बर–१ को टिकट दिपक कार्कीले बाँडेको र सो कुरा पार्टी अध्यक्ष यादवले नै उनलाई भनेको पशुपतिले बोलेका छन् । ३ नम्बरको टिकट बाँडने जिम्मा जितेन्द्र यादव र लालकिशोर साहलाई दिइएको उनले भनेका छन् । अर्थात १ र ३ नम्बरमा अध्यक्ष उपेन्द्र यादवले टिकट बाँडन लगाएको उनको आशय छ ।

आफूले २ नम्बरमा टिकट बाँड्दा दुईजनाले जितेको र अध्यक्ष यादवले बाँडेको क्षेत्रमा एकजना मात्र जितेको दाबी गरेका छन् । प्रदेश उपाध्यक्ष शेषनारायण यादवले बाँडेको ४ नम्बर क्षेत्रमा एउटा वडा मात्र जितेको उनले बोलेका छन् । उनले हैसियतको कुरा गर्दा आफू अब्बल रहेको दाबीसमेत गरेका छन् । यसबाहेकका अन्य कुराहरु पनि उनले दाबी गर्दै बोलिरहेको सुनिन्छ । उनले केन्द्रीय अध्यक्ष र प्रदेशको हैसियत डाउन भएपनि जिल्लाले आफ्नो हैसियत देखाइसकेको दाबीसमेत गरेका छन् ।

अध्यक्ष शत्रुधन यादवको पक्षमा ५ जना पदाधिकारीसहित कार्यसमितिमा ३३ जना रहेका छन् भने पशुपति यादवको पक्षमा ४ जना पदाधिकारीसहित कार्यसमितिमा १७ जना रहेका छन् ।