काठमाडौं, २८ जेठ । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई संसदमा राजतन्त्रको वकालत नगर्न चेतावनी दिएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद दाहालले राप्रपा प्रमुख सचेतक शाहीले संसद बैठकमा अराजकता देखाएको बताए ।

यो संसदले राजतन्त्रलाई नचिन्ने भन्दै दाहालले शाहीलाई संविधान र गणतन्त्र मान्न आग्रह गरे । संसद राजसंस्थाको पैरवी गर्ने ठाउँ नभएको भन्दै उनले रत्नपार्क र जुम्लामा गएर राजसंस्थाको पक्षमा आमसभा गर्न आग्रह गरे । सांसद दाहालले शाहीले प्रतिनिधिसभा बैठकको अन्तिममा नियमापत्ति गरेर आफ्नो कुरा राखेकोप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

शाहीले संसदीय नियमावलीभन्दा बाहिर गएर बोलेको र सभामुखले समेत नियमावलीभन्दा बाहिर गएर शाहीलाई बोल्न दिएको दाहालको भनाइ छ । संसद बैठक सञ्चालन गर्न सभामुखले कमजोरी गरिरहेको भन्दै उनले आफ्नो कमजोरी सच्याउन पनि आग्रह गरे ।

सांसद दाहालले जनताको खबरदारीका कारण प्रतिपक्षी नेकपा(एमाले) नागरिकता विधेयकलाई स्विकार्ने अवस्थामा पुगेको उल्लेख गरे ।बजेटको न्यायोचित वितरण गर्नुपर्नेमा जोड दिँदै उनले मानव विकास सूचकांकमा जुन जिल्ला र पालिका पछि परेका छन् सोही आधारमा बजेट विनियोजन गर्नुपर्ने बताए ।

सरकारले पहुँचमुखी र मन्त्रीमुखी बजेट नल्याई आवश्यकता र उपयोगिताका आधारमा बजेट ल्याउने उनले विश्वास व्यक्त गरे ।पशुपतिनाथ मन्दिरको जलहरीमा भएको अनियमितता छानबिन नभएसम्म यो विषय नमर्ने दाहालको भनाइ छ ।