काठमाडौं, २८ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि जिम्बाब्वे प्रस्थान गरेको छ । दक्षिण अफ्रिकामा १० दिनको तयारी गरेपछि नेपाली टिम उतैबाट आज जिम्बाब्वे प्रस्थान गरेको हो ।

दक्षिण अफ्रिकामा रहँदा नेपालले दुई अभ्यास खेल्यो । स्कटल्याण्ड र नेदरल्यान्ड्ससँग खेलेको दुवै अभ्यास खेलमा नेपाल क्रमशः ७ र ५ विकेटले पराजित भयो ।

विश्वकप छनोटमा समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा ३ असारमा जिम्बाब्वेको सामना गर्नेछ । त्यस्तै, नेपालले दोस्रो खेलमा ५ असारमा अमेरिकासँग खेल्नेछ ।

तेस्रो खेलमा नेपालले वेस्ट इण्डिजसँग प्रतिस्पर्धा गर्ने तालिका छ । नेपाल र वेस्ट इण्डिजबीचको खेल ७ असारमा हुनेछ । समूह चरणको अन्तिम खेलमा नेपालले ९ असारमा नेदरल्याण्ड्सको सामना गर्नेछ ।

त्यसअघि नेपालले ३० जेठमा यूएई र ३२ जेठमा ओमानसँग अभ्यास खेल खेल्ने तालिका छ ।

विश्वकप छनोटका लागि नेपाली टोली : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, प्रतिश जिसी, अर्जुन साउद र किशोर महतो ।