काठमाडौं, २७ जेठ । सुनकोशीमा गत शुक्रबार जिप दुर्घटना हुँदा बेपत्ता भएका सिटिइभिटीका योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेलको शव भेटिएको छ ।

उनको शव जिप दुर्घटना भएको ८ दिनपछि भेटिएको हो । उदयपुरको ताप्ले गाउँपालिका ५ निवुवाटारस्थित सुनकोशी नदी किनारमा उनको शव भेटिएको हो ।

शनिबार भुर्तेलको शव कटारी अस्पतालमा पोस्टमार्टमपछि सनाखत गरी परिवारलाई बुझाइएको छ । भुर्तेलको सनाखत सँगै मृतक तीनै जनाको सनाखत भएको छ ।

यसअघि सिटिइभिटीका प्रशासन शाखा निर्देशक कृष्ण केसी र विद्युत प्रशिक्षक भानु पौडेलको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले घटनास्थल नजिकै फेला पारेको थियो ।

प्र.३–०१–००२ झ ४९८५ नम्बरको गाडीमा भुर्तेलसहित चार जना भक्तपुरबाट खोटाङतर्फ जाँदै थिए। उक्त दुर्घटनामा परेका तीन जनाको निधन भयो भने जिपका चालक दुर्घटनाकै क्रममा नदीमा पौडिएर बाँच्न सफल भएका थिए ।