काठमाडौं, २७ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा देश हितको पक्षमा चुइँक्क पनि बोल्न नसकेको बताएका छन् । मित्र राष्ट्र भारतसँग आफ्नो देशको पिर मर्का समेत प्रधानमन्त्री दाहालले राख्न नसकेको ओलीको आरोप थियो ।

शनिबार काठमाडौंमा आयोजित पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलामा बोल्दै उनले वर्तमान सरकारलाई नालायकको संज्ञा दिँदै देशकै लागि दुर्भाग्य भएको बताए ।

उनले भने, ‘जसले देशको बारेमा चुइँक्क बोल्न सक्दैन । जसले राष्ट्रिय हितको रक्षाका सन्दर्भमा एउटा केही पनि गर्न सक्दैन । विदेश भ्रमणमा जान्छ, एउटा मित्र राष्ट्रको भ्रमणमा जान्छ । मित्रसँग आफ्ना पिर मर्काका कुरा पनि गर्न सक्दैन । मलाई यस्तो प¥यो पनि भन्न सक्दैन । यस्ता नालायक सरकारहरू बन्नु भनेको देशको दुर्भाग्य हो । विकासको योजना छैन, सोच छैन ।’

ओलीले देशको दुर्दिन सुरु हुनु युक्रेन वारको कारणले हो ? भनी सरकारमाथि कटाक्ष समेत गरे । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले फुकोट कर्णाली जलविद्युत आयोजना निर्माण कार्य भारतलाई सित्तैमा सुम्पेर गल्ती गरेको बताए ।

उनले भने, ‘दुईटा नदी तल्लो अरुण भनेर कौडीको मोलमा दिनु भएको छ । मैले २०७६ सालमा फुकोट कर्णाली आयोजना एकदमै सस्तो छ । कुदी रहेको नदीमै बाँध नबाँधीकन ४८० मेगावट कुदेको नदीबाट विद्युत निकाल्न सकिन्छ । त्यति सस्तो आयोजना, यो नेपाल आफैले बनाउँछ मैले निर्णय गरेको थिए । यो त अहिले त्यो किस्तीमा राखेर उतै सुम्पिने कुरा भयो । प्रधानमन्त्री भन्न सक्नुहुन्न के सर्तमा दिनु भएको छ ? यत्तिकै भएको होइन यो ।’

वर्तमान सरकारसँग विकासको कुनै पनि योजना नभएको जिकिर गर्दै अध्यक्ष ओलीले यस्तो सरकार भनेपछि मुलुकमा ग्रहण लाग्नु स्वाभाविक भएको बताए । उनले वर्तमान सत्तारुढ गठबन्धनले आफ्नो पार्टीलाई विरोध गरे पनि कमजोर बनाउन नसक्ने दाबी गरे । अध्यक्ष ओलीले मुलुकको सुन्दर भविष्यका लागि पनि एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउनुपर्ने बताए ।