काठमाडौं, २७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका नदीनालाहरू भारतलाई सुम्पने काम गरेको आरोप लगाएका छन् ।

अध्यक्ष लिङ्देनले प्रधानमन्त्री दाहालको भारत भ्रमणप्रति सङ्केत गर्दै भारतको नयाँ संसदमा नेपालको भूमि सामेल गरिएको नक्सा राख्दा पनि किन त्यसो गरिएको भनेर प्रधानमन्त्री दाहालले प्रश्न गर्न नसकेको भन्दै आपत्ति जनाएका हुन् ।

‘देशका नदीनालाहरू विदेशीलाई जिम्मा लगाउन पाउँदा खेरी उपलब्धि ठान्न थालेका छन् । आफ्नो भ्रमणको मुखैमा, आफ्नो देशको भूभाग समेत अङ्कित गरेर छिमेकीले आफ्नो नक्सामा प्रकाशित गर्दा खेरी यो किन भयो भनेर प्रश्न गर्न नसक्नेहरूको हातमा आज देशको नेतृत्व छ’, उनले भने, ‘तपाईँहरूले दुःख गरेर, सुरक्षा गरेर जोगाएको देश भोलि तपाईँको भावी सन्ततिले देख्न नपाउने खतराहरू बढेर गएको छ । कसैले पनि नेपालमा राजा चाहिन्छ, हिन्दु राष्ट्र चाहिन्छ । यो संघीयता खारेज हुनुपर्छ भन्ने चाहना राख्नु हुन्छ भने त्यो मानिसका लागि अर्को कुनै पार्टी छैन । अर्को कुनै विकल्प छैन ।’

पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले देश सङ्कटमा परेको जिकीर गर्दै त्यसको सुरक्षाका लागि आन्दोलनमा आउन पनि भूतपूर्व सैनिकहरूलाई आह्वान गरे । उनले राजसंस्था, हिन्दु राष्ट्रको पुनर्स्थापना र सङ्घीयताको खारेज गर्न चाहने हरेक नेपालीको पार्टी भनेकै राष्ट्रिय प्रजातन्त्र पार्टी भएको दाबीसमेत गरे ।

उनले भने, ‘यो लडाइँ देश जोगाउने लडाइँ, धर्म जोगाउने लडाइँ, यो लडाइँमा उभिनु पर्ने भयो । यसमा एक चोटी तपाईँहरूको साथ चाहियो । सहयोग चाहियो भनेर म अपिल गर्न चाहन्छु । तपाईँहरूले हिजो बन्दुक बोकेर सुरक्षा गरेको देश, धर्म सङ्कटमा गयो ।’

अध्यक्ष लिङ्देनले भूतपूर्व सैनिकहरूका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको विकल्प नभएको बताए । उनले देश सङ्कटमा पर्दा, हिन्दु धर्म सङ्कटमा पर्दा भूतपूर्व सैनिकहरूले चुप लागेर बस्न नमिल्ने पटक पटक दोर्होयाए ।