जनकपुरधाम, २७ जेठ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाको हिरासत कक्षबाट फरार रहेका थप एक थुनुवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर–२ रमदैया बस्ने २५ वर्षीय रोशन यादव रहेका छन् ।

यादवलाई शनिबार बिहान साढे १० बजेको समयमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरी टोलीले भारतको सितामढीबाट महोत्तरीको औरही बजारस्थित आफ्नो दिदिको घर आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

गत माघ १६ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको वाल भत्काएर फरार भएका ६ जना थुनुवाहरू मध्ये ५ जनालाई पक्राउ गरि थप अनुसन्धान गरिएको र बाँकी रहेका एकजनामाथि सार्वजनिक शान्ति विरुद्धको अपराधमा मुद्दा चलिरहेको थियो ।

पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई थप अनुसन्धान कार्य भइरहेको धनुषा प्रहरीले जनाएको छ ।