पर्सा, २५ जेठ । पर्सा प्रहरीले पतञ्जली आर्युवेद प्रालिमा जागिर लगाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको बहदुरमाई नगरपालिका–५ बस्ने २५ वर्षीय अंकेश कुशवाहा रहेका छन् ।

गत साउन ५ गते पर्सा विन्दवासिनी गाउँपालिका–४ का २० वर्षीय अमन चौरसियालाई कुशवाहाले पतञ्जली आयुर्वेद प्रालिमा कामदारको खाँचो रहेको र आफू उक्त कम्पनीको सुपरभाइजर पदमा कार्यरत रहेको भनि कम्पनीको नक्कली परिचय पत्र देखाएर २५ हजार रुपैयाँ लिएको आरोप छ ।

अंकेशले अमनलाई आफ्नो बैंक खातामा २५ हजार रुपैयाँ हाल्न लगाएका थिए । अमनले जेठ १६ गते जिल्ला प्रहरी कार्यालय पर्सामा ठगी सम्बन्धी कसुर मुद्दाको जाहेरी दरखास्त दिएपछि खोजतलास गर्ने क्रममा प्रहरीले अंकेशलाई उनकै घरबाट पक्राउ गरेको थियो ।

यस सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।