जनकपुरधाम, २५ जेठ । सर्लाहीमा प्रहरी र स्थानीयबीच झडप हुँदा ५ राउण्ड गोली प्रहार गरिएको छ ।

जिल्लाको धनकौल गाउँपालिका–७ मा भन्सार तस्करी गरेर ल्याइएका अवैध खाद्यको विषयमा प्रहरी र गाउँलेहरुबिच झडप हुँदा प्रहरीले ५ राउण्ड हवाई फायर गरेको हो ।

बिहीबार दिउँसो गाउँकै स्थानीय राजु सहनीले भारतबाट तस्करी गरेर ल्याएको लाखौं मूल्य बराबरको खाद्य घरमा लुकाएर राखेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बरहथवाबाट खटेको टोलीले नियन्त्रणमा लिन खोज्दा झडप भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।

स्थानीयले ढुंगामुढा गर्दा प्रहरी निरीक्षक सुमित कुशवाहा र एकजना नाम खुल्न नसकेका हवल्दार घाइते भएको उनले बताए । घाइते प्रहरी निरीक्षक कुशवाहाको टाउकोमा गम्भीर चोट लागेको र उनलाई ८ वटा टाँका लगाइएको उनले जानकारी दिए ।

लाखौंको खाद्य ढुवानी गरेर घरमा लुकाएको विषयबारे प्रहरीले जानकारी पाएपछि नियन्त्रणमा लिन खोज्दा गाउँलेहरुले प्रतिकार गरेको डीएसपी थारुले बताए । उनले स्थितीलाई नियन्त्रणमा लिन ५ राउण्ड हवाई फायर गर्नुपरेको जानकारी दिए ।

अहिले त्यहाँको अवस्था सामान्य रहेको र लुकाएर राखिएका खाद्य नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको उनले बताए ।