छलफलबिना नीति तथा कार्यक्रम ल्याइएको भन्दै माओवादीद्वारा प्रदेशसभा बैठक बहिष्कार

जनकपुरधाम, २५ जेठ । सत्ताधारी दल नेकपा माओवादी केन्द्रले मधेस प्रदेशसभाको बिहीबार बसेको बैठक बहिष्कार गरेको छ ।
प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम छलफलबिना नै ल्याइएको भन्दै माओवादीले बैठक बहिष्कार गरेको हो ।
टुडेआवाजसँगको कुराकानीमा नेकपा माओवादी केन्द्र मधेस प्रदेशको संसदीय दलका नेता भरत प्रसाद साहले छलफलबिना नै नीति तथा कार्यक्रम ल्याइएको र सशर्त रकमान्तरमा व्यापक भ्रष्टाचार भएकोले आफूहरुले बिहीबारको प्रदेशसभा बैठक बहिष्कार गरेको जानकारी दिए ।
उनले भने, ‘नीति तथा कार्यक्रममा उल्लेखित सशर्त अनुदान र रकमान्तर सहितको बुँदामा हाम्रो असहमती हुँदाहुँदै पनि एकलौटी गर्न खोजिएको छ । माओवादीको उपस्थिती र महत्वलाई मूल्यांकन नै गरिएको छैन् । त्यसैले हामी आजको बैठकमा अनुपस्थित भएका छौं ।’
सशर्त अनुदान र रकमान्तरको रकममा १० प्रतिशत कमिशन खाने सर्तमा चलखेल गरिएको उनको आरोप छ ।
नेकपा माओवादी केन्द्रले नीति तथा कार्यक्रमसमेत बहिष्कार गर्ने तयारी गरिरहेको स्रोतले जनाएको छ । मधेस प्रदेशसभामा नेकपा माओवादी केन्द्रका ९ जना प्रदेशसभा सदस्य छन् ।
आजको बैठकबाट नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची थियो ।
यता, स्रोतका अनुसार माओवादी केन्द्रभित्रै असन्तुष्टि बढेको छ । मन्त्री बन्ने होडबाजी र स्वार्थका कारण आफैंमा कुरा नमिलेपछि सो पार्टीका सांसदहरु बैठकमै अनुपस्थित भएका छन् । एकलाई हटाएर अर्कोले आफू नै मन्त्री बन्न पाउनुपर्ने अडान लिएपछि पार्टीभित्र असन्तुष्टि बढेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


