मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन

जनकपुरधाम, २५ जेठ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. रामकेवल साहको निधन भएको छ ।
करिब एक सातादेखि भारतको नयाँ दिल्लीमा उपचाररत डाक्टर साहको ६९ वर्षको उमेरमा बिहीबार बिहान ३ बजे उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
दुई महिनादेखि लिभर क्यान्सरबाट पीडित प्रा.डा. साहको काठमाडौंमा उपचार सम्भव नभएपछि भारतको नयाँ दिल्लीको गुडगाउँस्थित नारायणा अस्पताल लगिएको थियो ।
उपकुलपति डाक्टर साह नशा तथा हाडजोर्नी रोग विशेषज्ञ थिए । पारिवारिक स्रोतका अनुसार उनको पार्थिव शरीरलाई गृहनगर जनकपुरधाम ल्याउने प्रयास भइरहेको छ । शुक्रबार जनकपुरधाममै दाहसंस्कार गरिनेछ ।
दुई दशकदेखि मधेशको मुद्दा र मधेश आन्दोलनको पक्षमा थिंक टयांकका रुपमा काम गर्दै प्रथम मधेश सरकार बनेपछि प्रदेशको स्वास्थ्य क्षेत्रको विकासका लागि सरकारको स्वास्थ्य सल्लाहकार हुँदै प्रतिष्ठानको उपकुलपति बनेर सेवा गरिरहेका उनको निधनले मधेश शोकमा डुबेको छ । मधेश मुद्दाका अगुवाहरुले उनको निधनमा शोक व्यक्त गरिरहेका छन् ।
नेपाल मेडिकल कलेजमा लामो समय अध्यापन गराएका प्राध्यापक डा. साह सेवानिवृत्त भएलगत्तै प्रतिष्ठानका उपकुलपतिमा नियुक्त भएका थिए । त्यसअघि अर्थोपेडिक्स सर्जन डा.साह केही वर्ष सरकारी सेवामा संलग्न थिए । २०२६ सालमा जनकपुरधामस्थित सरस्वती माविबाट प्रवेशिका परीक्षा उतीर्ण गरेका डा. साह सो परीक्षामा देशभरिमै तेस्रो स्थान प्राप्त गर्न सफल भएका थिए ।
कक्षा आठसम्म भने उनी आफ्नो जन्मथलो धनुषाको सबैला छेउ रघुनाथपुरको फकिरचन्द गामी उच्चा मावि बरकुर्वास्थित विद्यालयमा अध्ययन गरेका थिए । अमृत साइन्स क्याम्पसबाट आईएससी अध्ययन गरेका डा.साह भारतको मेरठ मेडिकल कलेजबाट एमबिबीएस र एमएस पढेका थिए । बेलायतको लिभरपुलबाट एमसीएचमा स्वर्णपदक प्राप्त गरेका थिए ।
कांग्रेस नेता निधिद्वारा शोक व्यक्त
प्रा. डा. साहको निधनमा उनका मित्र नेपाली कांग्रेसका पूर्वउपसभापती विमलेन्द्र निधिले शोक व्यक्त गरेका छन् । बिहीबार ट्विट गर्दै निधिले डा. साहको निधनको खवरले स्तब्ध भएको उल्लेख गरेका छन् ।
२०४६ सालको आन्दोलनमा डा. साहकै घरमा भुमिगतरुपमा बसेर ई. सत्यनारायण साह, बिन्देश्वर महासेठ परिवार र साथीहरुसँग मिलेर आन्दोलन सञ्चालन गरेको स्मरण गर्दै निधिले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


