–बरुणा कर्ण
जनकपुरधाम, २४ जेठ । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नागरिकताको सवालमा न्यायपालिकालाई अवरोधक नबन्न आग्रह गरेका छन् ।

बुधबार जनकपुरधाममा आयोजित नेपाल मुस्लिम संघ धनुषाको तेस्रो जिल्ला अधिवेशनमा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रतिनिधिसभा सदस्य समेत रहेको नेता निधिले नागरिकता विधेयकको सवाल संविधान कार्यान्वयनसँग जोडिएको यसमा बाधक नबन न्यायपालिकासँग आग्रह गरेका हुन् ।

उनले भने, ‘नागरिकता विधेयक संविधान कार्यान्वयनसँग जोडिएका छ । र, संविधान कार्यान्वयको दायित्व न्यायपालिकाको समेत छ । त्यसैले यसमा अवरोधक नबनौं । नभए हामी कडा आन्दोलन गर्न बाध्य हुनेछौं ।’

उनले बुवाआमाको नागरिकता भएका सन्तानहरु पनि नागरिकताविहिन रहेको र यस्तो अवस्था मधेसको घरघरको समस्या रहेकाले संविधानको अवधारणा विपरित नागरिकको भविष्यसँग खेलवाड गर्ने अधिकार कसैसँग नरहेको जिकिरसमेत गरे ।

जेठ २६ गते सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएकाले संविधानको मर्म अनुुसारनै आएको नागरिकता कानूनको बाधक अदालत नबन्नेमा कांग्रेस विश्वस्त रहेको बताए । उनले यसमा अवरोध भए आन्दोलनका लागि तयार रहन नेता कार्यक्रतालाई निर्देशन दिए ।

अर्को प्रसंगमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार पाँच वर्ष चल्ने र पालैपालको प्रचण्ड, माधव नेपाल र शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दाबी गरे ।

उनले आफू २०८४ सालको आगामि चुनावमा नेपाली कांग्रेस एक्लै चुनाव लडनुपर्ने पक्षमा रहेको समेत बताए । कांग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताउँदै नेता निधिले मुस्लिम समुदायको भलो चाहने पार्टी कांग्रेस बाहेक अर्को कुनै हुनै नसक्ने समेत दाबी गरे ।

कार्यक्रममा मधेस प्रदेशसभा सदस्य रामसरोज यादव, कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियार, जनकपुरधामका नगर प्रमुख मनोजकुमार साह, उपप्रमुख किशोरी साह, संघका अध्यक्ष ईब्राहिम राइनलगायतका वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए ।