पूर्वराज्यमन्त्री महेश चौधरीको निधन

काठमाडौं, २४ जेठ । पूर्वराज्यमन्त्री महेश चौधरीको निधन भएको छ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बुधबार दिउँसो चौधरीको निधन भएको हो ।
उनी हर्नियाबाट पीडित थिए । काठमाडौंमा हालै शल्यक्रिया गरेर गृह जिल्ला दाङ फर्किएका उनी स्वास्थ्यमा पुनः समस्या देखिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए ।
चौधरी २०४८ सालमा राष्ट्रिय सभा सदस्य र २०५४ सालमा स्थानीय विकास राज्यमन्त्री बनेका थिए । नेकपा एमालेका पूर्व सल्लाहकारसमेत बनेका चौधरी पछिल्लो समय भने राजनीतिबाट निष्कृय थिए । उनले वि.सं २०२८ सालमा दाङबाट थारू भाषाको साहित्यिक पत्रिका ‘गोचाली’ निकालेका थिए ।
उनले ‘द हिडनट्रेजर अफ द लो ल्याण्ड नेपाल (भाग–१ र २)’, ‘नेपालको तराई तथा यसका भूमिपुत्रहरू’, ‘स्थविरहरुको प्राचीन इतिहास र संस्कृति’, थारू भाषाको पहिलो गीति नाटक ‘छारा’, थारू भाषामा ‘लिरौसी व्याकरण’ लगायत पुस्तक लेखेका छन् ।
पछिल्लो समय उनले घोराही–१७ स्थित बेलभारमा सूर्यशक्ति सुपर जैविक प्राङ्गारिक मल उत्पादन केन्द्र सञ्चालन गर्दै आएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


