काठमाडौं, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीलाई सरकारमा ल्याएर मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन् ।

जनमत पार्टीलाई सरकारमा ल्याउनुपर्ने भएकाले मन्त्रिपरिषद् पुनर्गठनको तयारी भइरहेको एक नेताले बताएका हुन् ।

मन्त्रिपरिषदले पूर्णता पाइसकेको अवस्थामा जनमत सरकारमा आउँदा नेकपा माओवादी केन्द्रले एउटा मन्त्रालय छाड्नुपर्ने हुन्छ ।

माओवादीबाट सरकारमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री शक्ति बस्नेत, सञ्चारमन्त्री रेखा शर्मा, संघीय मामिला तथा सामान्य प्रकाशनमन्त्री अमनलाल मोदी र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती छन् ।

स्रोतका अनुसार मन्त्री किरातीसँग प्रधानमन्त्री प्रचण्ड असन्तुष्ट छन् । सरकार छाड्नुपर्नेमा उनकै नाम पर्न सक्ने माओवादीका नेताहरु बताउँछन् ।

गत १० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डले ९ जेठमा सरकारलाई पूर्णता दिएका थिए ।