काठमाडौं, २४ जेठ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले साना तथा मझौला व्यवसायीको विकास, बिस्तार र प्रवर्द्धनको लागि नीतिगत सुधारसहित अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापना गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

साना तथा मझौला व्यवसायी महासङ्घ नेपालको २०औँ स्थापना दिवस दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि साना तथा मझौला उद्योगको विकास, बिस्तार र प्रवर्द्धन गरिनुपर्नेमा सरकार दृढ रहेको बताए ।

उनले व्यवसायको विकासका लागि आवश्यक नीतिगत सुधारसहित स्वदेशी बजार बिस्तारको साथै अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापित गराउनेतर्फ सरकारले आवश्यक पहल गर्ने बताए ।

उनले साना तथा मझौला उद्योगको विकास तथा बिस्तारले स्थानीय स्तरदेखि नै आर्थिक विकास तथा रोजगारीका अवसरहरू प्रदान गरी मुलुकलाई आर्थिक सम्मुनतिको बाटोमा अगाडि बढाउने भएको र यस्ता व्यवसायलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।