काठमाडौं, २३ जेठ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विदेशी लगानी भित्र्याउने कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

मंगलबार पार्टीनिकट बौद्धिक पेसाकर्मी महासंघ नेपाल पुनर्गठन तयारी समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

आफू उपप्रधानमन्त्री हुँदा विभिन्न देशका लगानीकर्तासँग कुरा गरेको, तर नेपालमा लगानी गर्ने प्रक्रियाका लागि झन्झट हुने गरेको गुनासो पाएको उनले बताए । विदेशीहरु नेपालमा लगानी गर्न इच्छुक भए पनि कानुनी व्यवधानले समस्यामा पार्ने गरेको उनको भनाइ छ ।

यादवले ७३ प्रतिशतभन्दा बढी बजेट तलब, भत्ता, ऋण तिर्न र यात्रामा खर्च गर्दैमा सकिने भन्दै यस हिसाबले कुनै पनि देशले आर्थिक समृद्धि ल्याउँछु भन्नु ढाँट्नुबाहेक केही नभएको बताए ।

न्यायालय निष्पक्ष हुन नसकेको बताउँदै उनले भने, ‘कानूनको अस्थिरता, न्यायालयमा विश्वास छैन । न्यायालय निष्पक्ष हुन नसकेकाले कोही पनि न्यायलय आउन चाहँदैन । त्यो वातावरण अन्त्य गर्नुपर्छ ।’

अध्यक्ष यादवले नेपालको प्राकृतिक स्रोतको प्रयोग गर्नसके नेपाल समृद्ध मुलुक बन्ने औँल्याए ।