विराटनगर, २३ जेठ । नेकपा माओवादी केन्द्रले कोशीमा प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन् । केन्द्रीय गठबन्धनमा आएको फेरबदलका कारण आफूहरुले समर्थन फिर्ता लिएको उनले बताए ।

मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्तासँगै माओवादीबाट सरकारमा सहभागी दुई मन्त्री फिर्ता बोलाउने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्य र भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईंले राजीनामा दिएका हुन् ।

आङ्बोले वर्तमान सरकार र राजनीतिक दलकै सहमतमा प्रदेश नामकरण भए पनि पहिचान पक्षधरले उठाएको मागप्रति प्रदेश सरकारले कुनै चासो नराखेकाले समर्थन फिर्ता लिइएको बताए ।

नेता आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिचानवादीसँग वार्ता गर्न आह्वान गरे पनि वार्ता टोली गठन नगरेको र पहिचानवादीलाई बेवास्ता गरेको आरोप लगाए ।