रेशम चौधरीविरुद्ध दायर भएको मुद्दामा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

काठमाडौं, २३ जेठ । रेशम चौधरी र राष्ट्रपति कार्यालयविरुद्ध दायर भएको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट रेशमले आममाफी पाएपछि टिकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका इन्सपेक्टर केशव बोहोराका पत्नी शारदा कडायतले रिट दायर गरेकी थिइन् ।
उनको रिटमा मंगलबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले विपक्षीहरुको नाममा कारण देखाऊ आदेश जारी गर्दै मुद्दालाई अग्राधिकार दिने आदेश दिएको हो ।
गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले टिकापुर नरसंहारका प्रमुख योजनाकार भनिएका रेशमलाल चौधरीलाई बाँकी कैद मिनाहा दिने निर्णय गरेका थिए ।
राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न माग गर्दै चौधरीलाई पूरै समय जेलमा राख्न कडायतले माग गरेकी छिन् । अदालतबाट न्याय नमिले अन्तर्राष्ट्रिय अदालतसम्म जाने बताएकी छिन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


