नेपालमा सहकारी बैंक खोल्ने अनुमति दिन नेता निधिको माग

–बरुणा कर्ण
जनकपुरधाम, २३ जेठ । नेपाली कांग्रेसका पूवैउपसभापति विमलेन्द्र निधिले नेपालमा सहकारी बैंक खोल्ने अनुमति दिन सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्यसमेत रहेका नेता निधिले सहकारी ऐनमा बैंक खोल्न दिने व्यवस्था उल्लेख भएपनि राष्ट्र बैंकले स्वीकृति नदिएको भन्दै बैंक खोल्ने स्वीकृति दिन माग गरेका हुन् ।
सहकारी बैंक खोल्न न्यूनतम ५०० जना सेयर होल्डर हुनुपर्ने प्रावधानअनुरुप सहकारी विभागमा बैंक खोल्न आवेदन परेको भए पनि राष्ट्र बैंकले पूर्वस्वीकृति नदिँदा काम रोकिएको उनले बताए । हाल एउटा मात्रै सहकारी बैंक रहको अवस्थामा त्यसको एकाधिकारलाई अन्त्य गरी प्रतिष्पर्धी बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।
सहकारीहरुको राम्रो व्यवस्थापन गर्नसके अर्थतन्त्रको तरलताको समस्या र रोजगारीको समस्या समाधान गर्न सकिने उनले बताए ।
सांसद निधिले मधेश प्रदेशमा सिँचाइको व्यवस्था गर्नुपर्ने, त्रिभुवन विश्वविद्यालयको पुनःसंरचना गर्नुपर्ने तथा संविधान र संघीयताको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । राष्ट्रपतिले संविधानसम्मत रुपले नागरिकता विधेयक प्रमाणीकरण गरेको उनको दाबी छ ।
अर्को प्रसंगमा बोल्दै नेता निधिले आगामी आर्थिक वर्षको बजेटमाथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लामो टिप्पणी गरेकोमा व्यंग्य गरे । बजेटमाथि टिप्पणी गर्ने क्रममा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले १ घण्टा ५८ मिनेट बोलेको निधिले बताए ।
उनले बजेटमाथि ओलीको टिप्पणी आफैंले लेखेको हो कि अरुले लेखिदिएको हो भनेर पनि ठट्टा गरे । ‘यद्यपि होमवर्क राम्रो गरेर आउनुभएको रहेछ धन्यवाद दिन चाहन्छु’ नेता निधिले भने ।
ओलीसँग विद्यार्थीकालदेखि नै आफ्नो सम्बन्ध रहेको र केन्द्रीय कारागारमा सँगै बस्ने मौका पाएको पनि निधिले बताए । तर त्यतिबेला र अहिले ओलीमा धेरै फरकपन देखिएको भन्दै उनले हाल ओलीमा संसदीय व्यवस्थाप्रति प्रतिबद्धता देखिएको बताए ।
ओलीको भाषणका क्रममा एमालेकै सांसदहरु निदाएको निधिले टिप्पणी गरे । आफू सत्तारुढ दलको सांसदको हैसियतमा ओलीले उठाएका कुनै पनि प्रश्नको जवाफ दिन आवश्यक नदेखेको पनि निधिले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


