जनकपुरधाम, २३ जेठ । नागरिकता विधेयक प्रमाणीकरणबारे सर्वोच्च अदालतबाट जारी अल्पकालिन अन्तरिम आदेशले मधेशी जनतामाथि पुनः अर्को गम्भीर प्रहार गरेको भन्दै धनुषामा विरोध प्रदर्शन गरिएको छ ।

सर्वोच्चको आदेशको विरोधमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले उच्च अदालत तथा जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरेको हो ।सर्वोच्च अदालतले नागरिकता वितरण रोक्न आदेश दिएर लाखौँ मधेशीको भविष्यसँग खेलवाड गरेको भन्दै लोसपा मदेश प्रदेशका अध्यक्ष जीतेन्द्र सोनलको नेतृत्वमा विरोध प्रर्दशन गरिएको छ ।

प्रदर्शनमा सहभागीहरूले नागरिकता ऐन लागू गर, संसदको सर्वोच्चता कायम गर, मधेशीलाई अनागरिक बनाउन मिल्दैन, नागरिकतामा राजनीति बन्द गर, राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयकको आधारमा नागरिकता वितरण गरजस्ता नारा लगाएका थिए ।राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । आइतबारबाट जिल्ला प्रशासन कार्यालयहरूले प्रमाणीकरण भएको विधेयकको आधारमा नागरिकता वितरण गर्ने सूचना समेत जारी गरेको थियो ।

तर, आइतबार नै सर्वोच्च अदालतले राष्ट्रपतिद्वारा प्रमाणीकरण गरिएको विधेयकलाई तत्काल कार्यान्वयन नगर्न आदेश दियो । उक्त आदेशपछि नागरिकता वितरण रोकिएको छ ।