सरकार व्यापार गर्ने काममा लाग्न नहुने उद्योगमन्त्री रिजालको भनाइ

जनकपुरधाम, २३ जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार व्यापार गर्ने काममा लाग्न नहुने बताएका छन् ।
मंगलबार जनकपुरधाममा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सरकारले व्यापार गर्ने नभइ व्यापारका लागि सहजीकरण गरिदिने बताएका हुन् ।
उनले व्यापार निजी क्षेत्रले गर्ने भएकाले सरकारले निजी क्षेत्रलाई व्यापारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । मन्त्री रिजालले वर्तमान सत्ता गठबन्धन ५ वर्ष नै टिक्ने बताउँदै उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताए । उनले बजेटको ट्रेडिसनल सिस्टम पञ्चायत कालदेखि नै रही आएकाले यसलाई परिवर्तन नगरेसम्म देश र उद्योगी सुखी हुन नसक्ने बताए ।
‘सरकारले व्यापार गर्ने होइन, निजी क्षेत्रले गर्ने हो व्यापार भनेको । सरकारले त मात्र सहयोग गर्ने हो । के गर्नुपर्छ बाटो बनाइदिने हो । अहिलेको गठबन्धन सरकारले तपाईंहरूका समस्या समाधान गर्नेछ । प्रधानमन्त्रीले संसदमा जवाफ दिँदा बजेटको ट्रेडिसनल सिस्टम पञ्चायत कालदेखि नै आएको छ,’ मन्त्री रिजालले भने, ‘त्यसलाई परिवर्तन गर्न नसक्ने हो भने न देश सुखी रहन्छ न उद्योगपति सुखी रहन सक्छन्, सरकार कटिबद्ध छ । राजनीतिक स्थिरताका नहुँदा विगतमा समस्या आयो तर अब यो गठबन्धन सरकार ५ वर्ष नै चल्छ मलाई लाग्छ ।’
उनले देश बनाउनका लागि संघीय सरकारलाई मात्रै कराएर नहुने बरु सबै मिलेर सहकार्य गरी कम गरे देश विकास गर्न समय नलाग्ने बताए । रिजालले पहाडबाट बगेर जाने बालुवाहरूको उत्खनन् गरी बिक्री गर्दा विरोध भइरहेको भन्दै आपत्ति जनाए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


