जनकपुरधाम, २३ जेठ । मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ ।

आज बस्ने पहिलो अधिवेशनको २०औं बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो ।

त्यसका लागि आज दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । बैठकलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले सम्बोधन गर्दै सरकारको वार्षिक कार्यदिशा समेत मानिने नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

प्रदेश सरकारले हरेक वर्ष असार १ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि प्रदेश प्रमुखमार्फत नीति तथा कार्यक्रम सार्वजनिक हुने गरेको छ ।

मधेस प्रदेशका अर्थमन्त्री संजयकुमार यादवले यसपालिको नीति तथा कार्यक्रम र बजेट, उत्पादनमा वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने बताएका छन् ।

उत्पादनमूलक क्षेत्रमा केन्द्रित भएर नीति तथा कार्यक्रम तयार पारिएको र आयोग एवम् अनुत्पादक क्षेत्रको आयोजनाहरूमा कटौती गरिएको अर्थमन्त्री यादवले जानकारी दिए ।

सरकारले पहिलो प्राथमिकतामा कृषि क्षेत्रलाई राख्दै कृषिमा विद्युतीकरण र आत्मनिर्भर बनाउने सीपमूलक दीर्घकालीन योजनाहरू नीति तथा कार्यक्रममा समावेश गरिएको उनले बताए ।

नीति तथा कार्यक्रममा संघीयताको सवलीकरण, सुशासन प्रवर्द्धन, सार्वजनिक सेवा प्रवाहमा सुधारलाई ध्यानमा राखेर दिगो विकासमा जोड दिइएको अर्थमन्त्री निकट एक नेताले जानकारी दिए ।

सभामुख रामचन्द्र मण्डलले सबै प्रदेश सभा सदस्यहरूलाई आ-आफ्नो भेषभुषामा सजिएर अनिवार्य उपस्थितिका लागि आग्रह गरेका छन् ।