पक्राउ परेका १० भारतीयमध्ये ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं, २२ जेठ । नेपाली नागरिकता लिएको आरोपमा पक्राउ परेका १० जना भारतीयमध्ये ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
पक्राउ परेका १० जनामध्ये भरतप्रसाद गुप्ताका छोरा राहुल गुप्तालाई भने २ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ । उनले २९ वैशाख २०७० मा वंशजको आधारमा नागरिकता लिएको खुलेको थियो । त्यसका आधारमा उनले १ मंसिर २०७१ मा पासपोर्ट समेत बनाएका थिए ।
उनका बुबा भरतप्रसाद गुप्ताले भने १७ चैत २०६३ मा जन्मका आधारमा नेपाली नागरिकता लिएका थिए ।
पक्राउ पर्ने अन्यमा ज्ञानमती देवी गुप्ता, गोपाल गुप्ता, रामसुन्दर गुप्ता, रामप्रवेश गुप्ता, भरत गुप्ता, स्नेह लता गुप्ता, मिना देवी गुप्ता र राजेशकुमार गुप्ता छन् ।
अदालतको आदेशपछि एक जनाबाहेक सबैलाई पुर्पक्षका लागि कारागार चलान गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले बताए । प्रकरणमा भरत साह कलवार, रोहितकुमार साह, अनिलकुमार साह र भोला भनिने सुनिल साह कलवार अझै फरार छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


