सर्लाही, २१ जेठ । सर्वसाधारणलाई धम्क्याएर पैसा असुली गर्ने आरोपमा एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाहीको हरिवन नगरपालिकास्थित बजारमा दिउँसै खुलेआमरुपमा सर्वसाधारणलाई धाकधम्की दिँदै पैसा असुल गर्ने महोत्तरीका एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

हरिवन बजारमा विभिन्न पसलहरुबाट धाकधम्की दिई विभिन्न बहानामा पैसा असुली गर्ने महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ११ स्थित कान्छी बजारका २८ वर्षिय उत्सव लामालाई पक्राउ गरेको सर्लाही प्रहरीले जनाएको छ ।

आरोपित लामाले धम्क्याएर पैसा असुलेको गुनासो आएको तथा सिसिटिभी फुटेजमा समेत आधारमा खोजतलास गर्दा सर्लाही प्रहरीले हरिवन नगरपालिका वडा नम्बर ११ स्थित राँगा बजारबाट पक्राउ गरेको जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कैलाश राईले जानकारी दिए ।