जनकपुरधाम, २१ जेठ । जनकपुरधाममा सर्वोच्च अदालतको निर्णयविरुद्ध विरोध प्रदर्शन गरिएको छ ।

नागरिकताविहीन संघर्ष समिति नेपालले सर्वोच्चको निर्णयविरुद्ध आइतबार साँझ जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि टायर बालेर विरोध प्रदर्शन गरेको हो ।

संघर्ष समितिका राष्ट्रिय अध्यक्ष इन्जिनियर इन्द्रजीत साफीको नेतृत्वमा पुगेको नागरिकताविहीन युवाहरुको एक समूहले सर्वोच्च अदालतको निर्णयविरुद्ध नारावाजी गर्दै टायर बालेर विरोध प्रदर्शन गरेका थिए ।

अध्यक्ष साफीले सोमबार बिहान ९ बजेदेखि मेचीदेखि महाकालीसम्म देशैभरका जिल्ला प्रशासन कार्यालय बन्द गर्ने चेतावनी दिँदै समयमै सम्पूर्ण नागरिकताविहिन, समाजसेवी, राजनीतिकर्मीलाई सहभागी हुन अनुरोधसमेत गरे ।

उनले संविधानमा नभएको चिजलाई पनि सर्वोच्चले ब्यूँताएको जिकिर गरे । साफीले अब यस देशमा सर्वोच्च पनि निष्पक्ष नरहेको आरोप लगाए ।

उनले सर्वोच्चको यस्तो आदेशविरुद्ध सडकमा नउत्रे मधेस केन्द्रीत दलहरुविरुद्ध पनि नारावाजी गर्ने चेतावनी दिएका छन् ।

नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आइतबार अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चको आदेशसँगै राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक तत्काल कार्यान्वयनमा नजाने भएको छ ।

राष्ट्रपति पौडेलले गत १७ गते सो विधेयक प्रमाणीकरण गरेका थिए ।